
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले लामो कसरतपछि संसदमा पेश भएको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सहमतिमै पारित हुने बताएका छन् । उनले एमसीसीकै कारण गठबन्धन टुट्ने अनुमान गर्नु हतारो हुने बताए ।
सोमवार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका प्रवक्ता महतले प्रधानमन्त्री शेरबहादुर देउवा सबै दलको सहमतिमा एमसीसी पास गर्ने पक्षमा रहेको बताएका हुन् । गठबन्धनका दुई दल माओवादी केन्द्र र नेकपा एसले यथास्थितिमा एमसीसी पास गरिए सरकार छाड्ने चेतावनी दिँदै आएका छन् ।
‘हामीलाई आशा र विश्वास छ, जसरी एमसीसी टेबल गर्न गठबन्धनका दलले सहयोग गर्नुभयो पास गर्न पनि सहयोग गर्नुहुनेछ,’ महतले भने, ‘हाम्रो तर्फबाट निरन्तर संवाद जारी छ । गठबन्धनमा समस्या आउने छैन, हामी विश्वास गर्न चाहन्छौँ । अहिले नै यो भयो भने के गर्नुहुन्छ भनेर अनुमान गर्न जरुरी छैन ।’
एमसीसीमा नेपालका कुनै पनि सरकार अछुतो नरहेकोले पास गर्दा सबै दलको समर्थन रहने उनले विश्वास व्यक्त गरे । ‘ढिलै भए पनि गठबन्धनले एमसीसी टेबुल गर्न सहमति गरे, १२ गते संसदमा छलफल गर्ने निर्णय भएको छ,’ महतले भने, ‘प्रधानमन्त्री र कांग्रेस चाहन्छ एमसीसीमा सबै दलको सहमति होस् ।’
डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रक्रिया शुरू भएको र नेपालको हितमा छ भन्ने निष्कर्षका साथ सबै सरकारले स्वामित्व लिएकोले अहिले विरोध गर्न नमिल्ने उनले दाबी गरे ।
‘अहिले अमेरिकी सेना आउँछ भनेर गलत प्रचार गरेका छन्, काम छैन किन आउँछ अमेरिका ? यस्तो झुटो प्रचार नेपालको इतिहासमा आजसम्म कहिल्यै भएको थिएन,’ महतले भने ।
महतले एमसीसीबारे नेपालमा पटक–पटक झुटो कुरा दोहोर्याएर सत्य हो कि भन्ने भ्रम पाल्न खोजिएको आरोप लगाए ।