
सत्तापक्ष आफैँ, प्रतिपक्ष आफैँ। यही दोहोरो भूमिकामा देखिएका छन् माओवादी केन्द्र र एकीकृत समाजवादी।
दुवै दलको सहमतिमा आइतबार एमसीसी संसद्मा पेस भइरहँदा कार्यकर्ता भने विरोध प्रदर्शन गरिरहेका थिए । कतिपय नेता त प्रतिनिधिसभा बैठकमै विरोध जनाइरहेका थिए। उनीहरूले नै प्रहरी र आफ्ना कार्यकर्तालाई सडकमा भिडाए। ढुंगा हानाहान गरे। कतिपय घाइते भए।
अनि, माओवादी अध्यक्ष पुष्पकमल दाहालले ट्विटरमा लेखे, 'एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छ।' ।
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पनि प्रदर्शनमा दमन भएको भन्दै असन्तुष्टि जनाए। नेपालले फेसबुकमा लेखे, 'अतः संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै गरिएको प्रदर्शनमा गरिएको दमन र बल प्रयोगप्रति गम्भीर असहमतिसहित विरोध गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना एवं उहाँहरूको सम्पूर्ण रूपमा उपचार व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।'
एकीकृत समाजवादीले सोमबार ज्यादतीपूर्ण दमन भएको घटनाको भर्त्सना गरेको छ। उसले घाइतेहरूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
राजनीतिक विश्लेषक तुलनारायण साह द्वैध चरित्रले राजनीति विकृत भएको बताउँछन् । 'हामी राजनीतिलाई मूल्यमान्यताको हिसाबले विश्लेषण गछौँ। नेताहरू नाफा नोक्सानको हिसाबले गर्दा रहेछन्', साह भन्छन्, 'दाहाल, माधव नेपाल अहिले त्यही गरिरहनुभएको छ। सत्तालाई उहाँहरूले प्रमुख रूपमा हेर्नुभएको छ। संविधान बनाउने बेला उपेन्द्र यादव र महन्थ ठाकुरले गर्नुभएको थियो। कार्यकर्तालाई सडकमा लठ्ठी, डन्डी खान लगाउने, आफू सत्तामा रहिरहने।
यस्तो चरित्र अनैतिक राजनीतिको पराकाष्ठा भएको बताउँछन् अर्का विश्लेषक डम्बर खतिवडा। उनका अनुसार प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीसँग मत बाझिएपछि सरकारमा बस्नु नै गलत हुन्छ। 'यो कस्तो अनैतिक काम हो ? मैले त बुझ्न पनि सकेको छैन', खतिवडा भन्छन्, 'संसदीय व्यवस्था भनेकै प्रधानमन्त्रीय प्रणाली हो । प्रधानमन्त्रीसँग मत बाझिएपछि सरकारमा रहनुनै हुँदैन।'
प्रधानमन्त्रीले ल्याएको प्रस्तावको विरोध गर्दै सरकारमा बसिरहन नहुने उनको तर्क छ। अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले खबर लेखेका छन् ।