
मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग सहयोग मागेका छन् । बालुवाटारमा मंगलबार साँझ भएको वार्ताका क्रममा देउवाले एमाले अध्यक्ष तथा प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग सहयोग मागेका हुन् । तर ओलीले आफूहरुको माग पूरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश नसक्ने भन्दै देउवाको सहयोग अस्वीकार गरे ।
बैठकपछि एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालले भेटका क्रममा प्रधानमन्त्रीले एमाले समक्ष सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेको बताए ।
तर ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा स्पष्ट गरेको उनको भनाइ छ ।