
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा आफूलाई सत्ता गठबन्धनबाट असहयोग भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षी दलका नेतासँग सहयोग माग गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार राति भएको भेटवार्तामा देउवाले एमाले अध्यक्ष केपी ओलीसँग एमसीसी अनुमोदनमा सहयोग गर्न आग्रह गरेका हुन् ।
‘प्रधानमन्त्रीज्यूले सत्तारुढ गठबन्धनभित्रबाटै सरकारलाई असहयोग भएकाले संसदमा टेबुल गरिएको एमसीसी अनुमोदनका लागि सहयोग गर्न आग्रह गर्नुभयो’ एमाले स्रोतले लोकान्तरसँग भन्यो, ‘हामीले संसदमा उठाइरहेका माग सम्वोधन गर्न आग्रह गर्यौ ।’
छलफलमा अध्यक्ष ओलीले संसद सुचारु गर्नको लागि एमालेले राखेका माग पूरा गर्न आग्रह गरेका थिए । ‘हामीले विगत छ महिनादेखि विभिन्न माग राखेर सदनमा आवाज उठाइरहेका छौं, ती माग पूरा नभएसम्म अन्य कुनै पनि प्रक्रियामा हामी सहभागि हुन सक्दैनौ’ ओलीको भनाइ उदृद्ध गर्दै स्रोतले भन्यो । माधव नेपाललगायत पार्टीले कार्वाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमालेले भदौ २३ देखि संसद अवरुद्ध गर्दै आएको छ ।
यसैगरी एमाले उपमहासचिव विष्णु रिमालले पनि एमसीसी अनुमोदन गर्न प्रधानमन्त्रीले प्रस्ताव गरेपछि आफूहरुले पहिला संसदमा जाने वातावरण तयार गराउन भनेको जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यूले एमसीसी अनुमोदन गर्न प्रस्ताव गर्नुभयो, हामीहरुले संसदमा जाने वातावरण नै छैन, हाम्रा माग पूरा गरेर संसदमा सहभागि हुने वातावरण बनाइदिनुस् भन्यौ’ देउवासँगको भेटबारे रिमालले लोकान्तरसँग भने ।
बालुवाटारको छलफलमा एमाले अध्यक्ष ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए । कांग्रेसको तर्फबाट देउवासहित उपसभापति पूर्णबहादुर खड्का पनि सहभागी थिए । यसअघि गत बिहीवार देउवाले बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए ।
एमसीसी अनुमोदनको विषयलाई लिएर गठबन्धनमा समस्या उत्पन्न भएको बेला कांग्रेस र एमालेका शीर्ष नेताहरुको छलफललाई चासोका साथ हेरिएको छ । यसअघि फागुन ५ गते देउवा ओलीको निवासमा पुगेका थिए ।
सरकारले आइतवार संसदमा पेश गरेको एमसीसी सम्झौतामाथि फागुन १२ देखि प्रतिनिधि सभामा छलफल शुरु हुँदैछ । देउवाले एमसीसी अनुमोदनमा समर्थन गर्न एमालेसँग आग्रह गर्दै आएका छन् ।