३१ असार २०८३, बुधबार

किन कसैसँग पनि झुक्दैनन् पुटिन ? कहाँबाट पाउँछन् शक्ति ?

फागुन ११, २०७८
किन कसैसँग पनि झुक्दैनन् पुटिन ? कहाँबाट पाउँछन् शक्ति ?

युक्रेन संकटमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको छवि थप बलियो बनेको छ । 

कसैसँग पनि नडराउने र नझुक्ने राजनेताका रूपमा उनलाई मानिसले चिन्ने गरेका छन् । 

६९ वर्षीय पुटिन जुडोका ब्ल्याक बेल्ट हुन् । त्यस खेलमा आक्रामकता र चतुर्‍याइँ आवश्यक हुन्छ । पुटिनको नीतिमा ती दुई कुरा देखिन्छ । 

त्यसैले युक्रेनका विषयमा अमेरिका र युरोप एकातर्फ हुँदा पनि पुटिन पछि हट्ने पक्षमा छैनन् । उनले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र देशको मान्यता दिएर आफ्नो दृढ निश्चय प्रस्तुत गरिसकेका छन् । 

सन् २०१४ मा पुटिनको आदेशमा रुसी सेनाले युक्रेनको क्राइमियामा कब्जा गर्दा पनि पुटिनलाई अहिलेको जस्तै धम्की आएको थियो । तर धम्कीसामु नझुकी उनले क्राइमियामाथिको नियन्त्रण कायम राखे अनि युक्रेनका अन्य भागमा रहेका पृथक्तावादीलाई पनि खुलेर सहायता दिए । 

राजनीतिमा आउनुअघि पुटिन सोभियत संघको गुप्तचर संस्था केजीबीमा काम गर्थे । जम्मा २३ वर्ष हुँदा उनले केजीबीका लागि काम गर्न थालेका थिए । 

केजीबीले उनलाई जर्मनीको शहर ड्रेसडेनमा अनुवादकका रूपमा नियुक्त गरेको थियो । केजीबीमा उनी लेफ्टिनेन्ट कर्नेलसम्म बनेका थिए । बर्लिनको पर्खाल ढलेपछि पुटिन रुस फर्किएर राजनीति गर्न थाले । 

सन् २००० मा राष्ट्रपति बनेका पुटिन त्यसयता लगातार शक्तिमा छन् । उनले राष्ट्रपति र प्रधानमन्त्री दुवै किसिमको भूमिका निर्वाह गरिसकेका छन् । 

केजीबीमा छँदा पुटिनले रुसको सुरक्षा संयन्त्रमा शक्तिशाली सम्बन्ध कायम गरेका थिए । देशको रक्षा तथा सुरक्षा संयन्त्रले पश्चिमको राजनीतिक सर्वोच्चताका अगाडि झुक्न तथा उदारवादी लोकतन्त्र अपनाउन अस्वीकार गरेको थियो । त्यस संयन्त्रसँग सम्पर्क बढाएर पुटिनले सन् १९९० को दशकमा रुसले बेहोरेको बेइज्जतीको बदला लिनका लागि शक्ति आर्जन गरेका थिए । 

आफूलाई शक्तिमा पुर्‍याउने सुरक्षा संयन्त्रलाई पुटिनले महत्त्वपूर्ण पद दिएर पुरस्कृत समेत गरेका छन् । 

सुरक्षा संयन्त्रका साथै उदारवादी प्रशासनतन्त्रसँग पनि उनले गठबन्धन पनि गरेका छन् । 

यी दुईबीच विचारधारा र आर्थिक नीतिका विषयमा मतभेद छन् । अनि देशको राजनीतिक व्यवस्थामा यिनीहरूको मात्र प्रभाव छैन । मस्कोभाइट भन्ने अर्को समूह छ जसले देशमा कुनै पनि किसिमको लोकतन्त्रलाई सहँदैन । 

रुसको इतिहास हेर्ने हो भने त्यहाँ कहिले पनि पश्चिमी शैलीको लोकतन्त्र थिएन । जारको समयदेखि निरंकुशतावादी शासनशैली अपनाइँदै आएको छ । इभान द टेरिबल तथा पिटर द ग्रेटले रुसमा कठोर शासन चलाउने गरेका थिए । 

सोभियत कालमा कम्युनिस्ट तानाशाह जोसेफ स्टालिनले पनि जारहरूकै जस्तो कठोर शासन चलाएका थिए । उनले आफूविरुद्ध लाग्ने लाखौं मानिसको हत्या गराएका थिए अनि हजारौं हजारलाई जेलमा कोचेका थिए । 

पूँजीवादी रुसमा पुटिन जार र कम्युनिस्ट पूर्वजहरूभन्दा केही नरम देखिन्छन् । तर आफूविरुद्धको कुनै पनि गतिविधिलाई रोक्न उनले तानाशाही देखाउने गरेका छन् । 

अनि आफ्ना पूर्वज जस्तै उनी पनि रुसलाई महान् राष्ट्र बनाउन चाहन्छन् । उनको अभीष्टलाई पूरा हुन नदिने सबै शक्तिलाई रोक्न उनी जुन हदसम्म पनि जान सक्छन् । युक्रेनको सार्वभौमसत्तामाथि उनले गरेको आक्रमण त्यसको उदाहरण हो । 
 

salt training

कमेन्ट गर्नुहोस्