
विना टिकट, विना पासपोर्ट तथा विना सुरक्षा जाँच कोही कुनै अन्तर्राष्ट्रिय विमानस्थलमा विमानभित्रै पुग्न सक्छ त ? सहज उत्तर आउँछ सक्दैन, सम्भव छैन ।
सामान्यतया अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्ध अत्यधिक कडा हुन्छ । विना अनुमति विमानमा त के, विमानस्थलभित्र नै पनि प्रवेश गर्न पनि सम्भव हुँदैन । तर नेपालमा त्यो सम्भव भएको छ ।
सुरक्षा प्रबन्ध र विमानस्थलको समग्र व्यवस्थापन चुनौती दिँदै अत्यन्त संवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा यस्तो घटना भएको छ, जसले विमानस्थल सुरक्षाको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ ।
गत सोमबार राति ९ बजेर ४५ मिनेटको समयमा कतार उड्न लागेको नेपाल वायु सेवा निगमको वाइडबडी विमानमा एक युवक विना टिकट, विना पासपोर्ट विमानको बिजनेस क्लासमा पुगे ।
क्याप्टेन विजय लामा नेतृत्वको चालक दलले विमान उडाउने तयारी गरिरहेकै अवस्थामा रौतहटका १८ वर्षीय अस्पम आलम विमानको बिजनेस क्लासमा सिटमै बसिसकेका थिए ।
पछि विमानका कर्मचारीले कागजात माग्दा देखाउन नसकेपछि मात्र असम्बन्धित व्यक्ति विमानमा पुगेको खुलेको थियो ।
विमानस्थल स्रोतका अनुसार उनीसँग न कुनै कागजात थियो, न त टिकट वा पासपोर्ट नै । पछि प्रहरी बोलाएर उनलाई विमानबाट तल झारियो ।
अहिले विमानस्थल प्रशासन ती युवक विमानसम्म नपुगेको दाबी गरेर गल्ती ढाकछोप गर्न लागिपरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले ती युवक विमानस्थलभित्र प्रवेश गरिसकेको भन्ने कुरा निराधार भएको जिकिर गरे ।
'डोमेस्टिक विमानस्थलतर्फको फेन्सिङमाथि हाम फालेर विमानस्थलसम्म पुगेको हो तर विमानभित्र पुगेको होइन,' ठाकुरले लोकान्तरसँग भने ।
यात्रु जाने च्यानलमार्फत नगएर दक्षिणतर्फको तार काटी हामफालेर भित्र प्रवेश गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।
उक्त घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर र विमानस्थलको सुरक्षा निकायहरूको अक्षमतालाई उजागर गरिदिएको छ ।
विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले यो विषय सुक्ष्म अध्ययनकै क्रममा रहेको बताए ।
अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील ठाउँमा भएको उक्त सुरक्षा चुकको जिम्मेवारी लिने कि नलिने भन्ने लोकान्तरको प्रश्नमा ढकालले भने, 'अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थापन प्रहरीको मात्र काम होइन । यसमा विभिन्न निकायहरू छन्, जिम्मेवारी लिनैपर्ने भए सबैले लिनुपर्छ ।'
उक्त घटनामा नेपाल प्रहरीको कुनै दोष नरहेको जिकिर उनले गरे ।
'अनुसन्धान गर्दा आन्तरिक सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीका तर्फबाट सबै क्लियर नै छ, त्यसमा केही समस्या नै भएन,' एसएसपी ढकालले लोकान्तरसँग भने, 'उनी दक्षिणतर्फबाट आएको देखिन्छ, विमानस्थलको बाहिरी सुरक्षा हेर्ने जिम्मेवारी नेपाली सेनाको हो ।'
दक्षिणतर्फको तार काटेर विमानस्थलभित्र प्रवेश गरेको देखिएको उनले बताए ।
अचम्मको कुरा त के भने पक्राउ परेका व्यक्ति यसअघि पनि सबै सुरक्षा व्यवस्थालाई चुनौती दिँदै एक महिनाअघि पनि विमानस्थलभित्र प्रवेश गरिसकेका रहेछन् ।
विमानस्थलका महाप्रबन्धक ठाकुरले त्यति बेला उक्त व्यक्तिको मानिसक अवस्था ठीक नभएको, सन्तुलन गुमाएको भनेर प्रहरीले छाडेको बताए ।
'कुनैबेला उनी विदेश जान खोजेको तर जान नसकेका कारण आफ्नो ज्यानको समेत परवाह नगरेर प्लेन देख्नेबित्तिकै दक्षिणतर्फको फेन्सिङमाथि हाम फालेर आएको देखियो,' ठाकुरले लोकान्तरसँग भने, 'उक्त घटनाको छानबिन अहिले पनि जारी छ ।'
विमानस्थल महाप्रबन्धकको नाताले यो गम्भीर कमजोरीको मुख्य जिम्मेवारी तपाईंकै होला नि भन्ने प्रश्नमा उनले भने, 'जिम्मेवारी लिएकै छु । म महाप्रबन्धक भएको नाताले पनि सबै जिम्मेवारी मैले लिनै पर्यो ।'
यस विषयमा छानबिन जारी रहेको भन्दै ठाकुरले विमानस्थल शहरको बीचमा भएकाले सुरक्षा चुनौती रहेको जिकिर गरे ।
'शहरको बीचोबीच विमानस्थल अवस्थित छ, त्यसैले जताततैबाट सुरक्षा थ्रेट छ । तै पनि सुरक्षा निकायले हालसम्म अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा गरी नै रहेका छन्,' उनले भने ।
ठाकुर नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशक समेत भइसकेका व्यक्ति हुन् ।
यसअघिका महानिर्देशक राजकुमार क्षेत्रीले अनिवार्य अवकाश पाउने बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले वरिष्ठ कर्मचारीहरूलाई पन्छाएर निमित्त महानिर्देशक बनाएका थिए ।