
फागुन ४ गते पौने ६ बजे सुनसरी उपमहानरपालिका– ४ कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डको जेठमानेमा १ व्यक्तिको शवको टुक्रा निलो–पहेंलो रंगको झोलाभित्र रहेको अवस्थामा फेला पर्यो । झोलाभित्र टाउको र खुट्टा थिए ।
टाउको फेला परेको ३२ फिट पश्चिम सडकमा शरीर मुनिको भाग र बायाँ खुट्टा प्रहरीले फेला पार्यो ।
भोलिपल्ट ५ गते कपडा, ज्याकेट, बायाँ खुट्टामा स्पोर्ट लेखेको मोजा लगायतका कपडा सनाखतका लागि ईलाका प्रहरी कार्यालय धरानले अपिल गर्यो ।
शरीर नभएको, टाउको क्षतविक्षत भएको अवस्थामा फेला परेको शवको पहिचान खुल्न नसकेपछि पहिचानका लागि प्रहरीले सूचना नै जारी गर्दा पनि पहिचानका लागि कोही आएनन् ।
६ दिनपछि अर्थात् फागुन १० गते उनको फोटोका आधारमा राहदानी र नागरिकताबाट पहिचान खुल्यो । दमक नगरपालिकाबाट पासपोर्ट बनाएका उनी ५ नम्बर वडाका दीपक सिग्देल भएका पत्ता लाग्यो ।
पहिचान खुलेपछि प्रहरीले आफन्तको खोजी गर्दा उनका २ पत्नी भएको खुल्यो । प्रहरीले अनुसन्धान गर्दा कान्छी पत्नीसँग उनको सम्बन्ध बिग्रिएको पत्ता लाग्यो ।
उनकी कान्छी पत्नी ३० वर्षीया अनिता केसीले योजना बनाएर पतिको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले बताए ।
‘उनले सम्बन्धमा रहेका परपुरुषसँग मिलेर हत्या गरेको देखिन्छ,’ एसपी थापाले लोकान्तरसँग भने, ‘सामाजिक सञ्जालमा भएको भेटले हत्यासम्म पुर्याएको छ ।’
हत्यामा संलग्न पुरुष विराटनगर महानगरपालिका–४ इक्राहीका २९ वर्षीय सरोज भण्डारी रहेका प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानमा सरोज र अनिताको ९ महिनाअघि सामाजिक सञ्जाल फेसबूकमार्फत चिनजान भएको खुलेको छ । त्यो चिनजानले दुवै जना ‘लिभिङ टुगेदर’मा बस्दै आएका अनुसन्धानमा खुलेको एसपी थापाले लोकान्तरलाई बताए ।
सरोजले पनि अनितासँग विवाह गर्नका लागि पत्नीसँग सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गरेको प्रहरीले बतायो । पत्नीले अर्कैसँग बस्न थालेको सुइँको पाएपछि मृतक सिग्देल बिदा लिएर नेपाल आएका थिए । मासिक १०–१५ हजार रुपैयाँ घर खर्चका लागि सिग्देलले विदेशबाट अनितालाई पठाउँदै आएका थिए ।
प्रारम्भिक बयानमा पूर्व योजनाअनुसार अनिताले सिग्देल धरान आएको भोलिपल्ट आफ्नो कोठामा लगेर हत्या गरेको बताएकी छन् । त्यही दिन सरोज र अनिता मिलेर गलबन्दीले घाँटी कसेर हत्या गरेका थिए । पुस २० गते नेपाल आएका सिग्देल सोही दिन धरान गएका थिए । अर्को दिन साँझ उनीहरूले हत्या गरेको एसपी सञ्जय थापाले बताए ।
अर्को बिहान सरोजको शव रिक्सामा राखेर टाउकोलाई टुक्राटुक्रा पारेर जंगलमा फालेको अनिताले प्रहरीलाई बयान दिएकी छन् । अनितासँग दिनेशको १० वर्षअघि ‘प्रेम विवाह’ भएकोे थियो । प्रहरीका अनुसार २२ वर्षअघि बिहे गरेकी जेठी पत्नी निर्मला सिग्देल छोराछोरीसहित झापाको शिवसताक्षि नगरपालिकाको झिलझिलेमा बस्दै आएकी छन् ।
जेठी पत्नीतर्फ दिनेशका २ छोरा र २ छोरी रहेका प्रहरीले जनाएको छ । दिनेशकी जेठी पत्नीसँग राम्रो सम्बन्धन भएको प्रहरीले जनाएको छ ।