
संयुक्त राष्ट्रसंघका लागि युक्रेनका राजदूतले रुसी समकक्षीको सत्तोसराप गरेका छन् ।
रुसले बिहीवार बिहानबाट युक्रेनका विभिन्न भागमा आक्रमण गरेपछि उनको भनाइ आएको हो ।
अमेरिकाको स्थानीय समयअनुसार बुधवार राति राष्ट्रसंघको सुरक्षा परिषद्को आपतकालीन बैठकमा किएभका राजदूत सर्गे किसलिस्ताले रुसी समकक्षी भासिली नेबेनजियालाई सरापेका हुन् ।
‘लगभग ४८ मिनेटअघि तिम्रा राष्ट्रपतिले युक्रेनविरुद्ध युद्धको घोषणा गरे,’ उनले बताए । ‘ल अहिलेको अहिल्यै भन, तिम्रा सैनिकले युक्रेनका शहरमा गोली र बम प्रहार गरेका छैनन् ? तिम्रा सैनिक युक्रेनको भूभागमा प्रवेश गरेका छैनन् ?’
‘युद्ध अपराधीहरू सिधै नर्कमा जान्छन्, राजदूत,’ उनले भने ।
यसको जवाफ फर्काउँदै नेबेनजियाले मस्को युक्रेनी जनताविरुद्ध आक्रामक नभएको र युक्रेनको सत्ता चलाउने तानाशाहहरूका विरुद्ध रहेको बताए ।