
नेपालमा थप ९२ लाख मात्रा कोरोनाविरुद्धको खोप आउने भएको छ ।
कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि ९२ लाख मात्रा खोप आउन लागेको हो ।
अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत उक्त खोप आउन लागेको हो । व्यवस्थापन महाशाखा, आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले थप ९२ लाख मात्रा फाइजर खोप ल्याउन लागिएको जानकारी दिए।
खोप आउने मिति नतोकिए पनि सम्भवतः आगामी मार्चदेखि खोप आउन सुरु हुने उहाँको भनाइ छ । छुटेका बालबालिकालाई पहिलो मात्रा, पहिलो मात्रा लगाइसकेकालाई दोस्रो र अतिरिक्त मात्राका लागि फाइजर खोप आउन लागेको हो । डा. चौरसियाले पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि पनि ८४ लाख मात्रा खोप आउने बताए । यो खोप सरकारले खरिदमार्फत ल्याउन लागेको हो । गोरखापत्र दैनिकमा खबर छ ।