०३ असार २०८३, बुधबार

झापाका ग्यास र पेट्रोल पम्पमा सरकारी टोलीको अनुगमन

फागुन १४, २०७८
झापाका ग्यास र पेट्रोल पम्पमा सरकारी टोलीको अनुगमन
प्रतिकात्मक तस्वीर

झापाका ग्यास उद्योग, पेट्रोल पम्प र किराना पसलमा सरकारी टोलीले गुणस्तरसम्बन्धी अनुगमन तीव्र बनाएको छ ।

झापा जिल्ला संयुक्त बजार अनुगमन समितिले केही दिनयता दैनिक बजार अनुगमन गरिरहेको छ ।

बिहीवार र शुक्रवार जिल्लाका ३ ग्यास उद्योग र ५ पेट्रोल पम्पमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक रुद्रप्रसाद न्यौपानेले बताए ।

‘बजारमा बेथिति नबढोस् र व्यवसायीसमेत सचेत हुन् भन्ने सोचेर अनुगमन कार्यलाई अभियानकै रूपमा बढाएका छौं,’ अनुगमन समितिका संयोजक न्यौपानेले भने, ‘कहिलेकाहीँ मात्र अनुगमन हुने गरेको भनेर कुरा उठ्ने गरेको छ तर हामी बजारमा उपभोक्ताको हितका लागि वस्तु तथा सेवाको गुणस्तर कायम राख्न निरन्तर अनुगमन गरिरहेका छौं ।’

अनुगमन टोलीले भद्रपुर–६ मा रहेको पराजुली एन्ड ब्रदर्श ग्यास उद्योग, मेचीनगर–१४ को मेची ग्यास उद्योग र बिर्तामोड–२ मा रहेको पाथीभरा ग्यास उद्योगको अनुमगन गरेको थियो । ती उद्योगले उत्पादन गरी सिलप्याक गरेका सिलिन्डरमा तोकिएको मात्रामा तौल भएको वा नभएकोबारे टोलीले प्राविधिक परीक्षण गरेको थियो ।

सिलिन्डरको सिलबन्दीको गुणस्तर, नापतौल, राजस्व बुझाएको कागजपत्र, स्टक लगायतको बारेमा टोलीले अनुगमन गरेको थियो ।

झापाका ग्यास उद्योगले उत्पादन गरेका सिलिन्डरको नापतौल र कागजपत्र ठीक अवस्थामा पाइएको अनुगमन टोलीले जनाएको छ । टोलीले मेचीनगरको पूर्वाञ्चल सप्लायर्स, प्रनिक आयल स्टोर्स, नेम्वाड पेट्रोल पम्प, नन्दा पेट्रोल पम्प, मेट्रो पेट्रोल पम्प र भद्रपुरको सन्तोष ट्रेडिड गरी ६ पेट्रोल पम्पमा अनुगमन गरेको थियो ।

अनुगमनमा आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, नेपाल आयल निगम, इलाका प्रहरी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

‘पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको घनत्व, मूल्य, नापतौल, कागजपत्र लगायतका विषय परीक्षण गर्दा ठीकै पाइयो,’ घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख जय अधिकारीले भने, ‘तर केही पम्पमा सरसफाइको अवस्था सुधार गर्न निर्देशन दिएका छौं ।’

टोलीले ग्यास उद्योग र पेट्रोल पम्पमा अग्नि नियन्त्रण तथा सुरक्षाको अवस्थाबारे समेत अनुगमन गरेको थियो । ती ठाउँमा अग्निसमन सिलिन्डर राखेको पाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्