
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको अस्पतालको रुपमा विकास गरिने बताएका छन् ।
अस्पतालको आइतबार ११२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको ५ वर्षभित्र अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवालाई अन्तर्राष्ट्रियस्तरका रुपमा सेवा प्रदान गर्ने गरी काम भइरहेको दाबी गरे ।
उनले अस्पतालको विकासको लागि पाँच खर्ब ९९ करोड लागत लाग्ने गुरुयोजना तयार गरेर टेण्डर प्रक्रिया शुरू गरिएको समेत जानकारी दिए । उनले अस्पतालमा आएपछि निको हुन्छ भन्ने मान्यता स्थापित गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा मुख्यमन्त्री केसीले अस्पतालको ४० बेडको आईसीयू कक्ष र ५० बेडको मेडिकल वार्डको पनि उद्घाटन गरे ।
वार्षिकोत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरू सकिएसँगै आइतवार मूल समारोह आयोजना गरिएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. ईन्द्र ढकालले जानकारी दिए ।
अस्पतालले पछिल्लो समय पेइङ क्लिनिक, क्यान्सर उपचार, वीमाको प्रभावकारी कार्यान्वयन, कोभिड विशेष अस्पताल सञ्चालन गरिरहेको छ ।
दैनिक एक हजारभन्दा बढी बिरामीले सेवा लिने यो अस्पतालले सरकारले तोकेका सबै सेवाहरू निःशुल्क रुपमा सञ्चालन गर्दै आएको छ । अस्पतालको स्तरोन्नतिसँगै सेवाहरू सेवाग्राहीले सहज रुपमा पाउन थालेका छन् ।