
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेल पाँच लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
नगरपालिकाको वडा नम्बर १ को कार्यालय भवन निर्माणको बजेटबाट घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।
पटेलसँगै उनका सहयोगी अशोकप्रसाद पटेल, योजना शाखा प्रमुख मुकेश पटेल र सह–लेखापाल प्रदीपकुमार यादव पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
वडास्तरीय योजनाबाट २० लाख रूपैयाँ विनियोजन भएर उपभोक्ता समितिमार्फत बनेको भवनको निर्माण सम्पन्न प्रक्रियाको लागि नगरपालिकामा जाँदा मेयर पटेलले पाँच लाख रूपैयाँ घुस मागेको खुलेको छ ।
अख्तियारले पटेलको साथबाट दुई लाख ५० हजार रूपैयाँ नगद र उनको नाममा काटिएको दुई लाख ५० हजार रूपैयाँको नेपाल बंगलादेश बैंकको चेक समेत बरामद गरेको अख्तियारको भनाइ छ ।
पटेलको कार्यकक्षमा रहेको टेबलको घर्राबाट दुई लाख ५० हजार रूपैयाँ नगद र टेबलमाथि राखिएको अवस्थामा दुई लाख ५० हजार रूपैयाँको चेक प्राप्त भएको अख्तियारले जारी गरेको सूचनामा उल्लेख छ ।
पटेल नगरपालिकाको कार्यकक्षबाटै पक्राउ परेका थिए ।

