
रूपन्देहीका ३ पालिकाले कोरोना विरुद्धको पूर्ण खोप सुनिश्चितता घोषणा गरेका छन् ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकाका १२ वर्ष माथिका सबै नागरिकले कोरोना विरुद्धका दुवै मात्र खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।
बुटवल उपमहानगरपालिकाले १२ वर्षभन्दा माथिका १ लाख ८२ हजार नागरिकलाई कोरोना विरुद्धको खोप लगाएको छ । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कल्पना भट्टराईले दुवै खोप र बुस्टर डोज पनि लगाइसकेको बताइन् । बुटवल प्रदेशकै धेरै जनसंख्या चाप भएको नगर हो ।
सैनामैनामा ६७ हजार ५९७ जनालाई कोरोना विरुद्धको खोप लगाइएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । स्वास्थ्य कार्यालय रुपन्देहीको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्यका लागि सक्षम प्रणाली, रेडक्रस सोसाइटीको सहभागितामा सर्वेक्षण गरी नगरका ९५ प्रतिशत बढीले खोप लगाएको सुनिश्चित भएपछि नगरलाई पूर्ण खोप घोषणा गरिएको हो ।
नगर प्रमुख कार्कीले सैनामैनाका ३ वटा वडाका १८० घरधुरीमा सुलभ सर्वेक्षण गर्दा पूर्ण खोप भएको पाइएको बताए । कोभिड–१९ विरुद्धको अभियानअन्तर्गत गत वर्षको फागुन २३ गतेदेखि सैनामैना खोप लगाउन शुरू गरिएको थियो ।
तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका १ लाख २८ हजार ५३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना छन् । लक्षित जनसंख्या ९५ हजार ९६६ रहेकोमा तिलोत्तमामा लक्षितभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
नगरपालिकाभन्दा बाहिरका व्यक्तिले समेत स्वास्थ्य संस्थामा खोप लगाएकाले लक्ष्यभन्दा बढी प्रगति हासिल भएको प्रवक्ता सुरेन्द्र श्रीले बताए । परिवार सर्वेक्षण गरेर छुटेका ७ हजार ७७ जनालाई खोप लगाइएसँगै तिलोत्तमा कोरोना विरुद्धको खोप सुनिश्चितता भएको पहिलो पालिका बनेको छ ।