
रूपन्देहीका २ पुराना नगरपालिका बुटवल र सिद्धार्थनगरको बीचमा पर्छ तिलोत्तमा । केही फरक र नयाँ काम गरेर चर्चामा रहेको तिलोत्तमामा आगामी स्थानीय तहको निर्वाचन केन्द्रित रस्साकस्सी शुरू भएको छ ।
तिलोत्तमा गृहमन्त्री तथा कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाँण र एमालेको बौद्धिक तथा सादगी नेताको पहिचान बनाएका पूर्वमन्त्री घनश्याम भुसालको गृहनगर पनि हो ।
अमेरिकी सहयोग सम्झौता एमसीसी अनुमोदन भएसँगै अब निर्वाचन हुनेमा ढुक्क हुँदै नेताहरू स्थानीय तहमा प्रमुख र उपप्रमुख हुनका लागि सक्रिय भइरहेका छन् । वडा तहमा समेत वडाध्यक्ष हुनका लागि स्थानीय नेताले लबिङ शुरू गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा बासुदेव घिमिरे र उपप्रमुखमा जागेश्वरी चौधरी निर्वाचित भएका थिए ।
२०७४ सालको चुनावमा नेपाली कांग्रेसले ‘ढुक्क’ जस्तै ठानेको तिलोत्तमामा एमालेले अत्यन्त सहज जीत निकालेको थियो । घिमिरेसँग प्रतिस्पर्धी थिए गृहमन्त्री खाँणका सहोदर भाइ रामकृष्ण । रामकृष्ण अहिले कांग्रेस रुपन्देहीको सभापति छन् ।
आसन्न चुनावमा एमालेबाट नगर प्रमुखमा मोहन चापागाईं, यज्ञ गैरे र हालका मेयर बासुदेव घिमिरे दाबेदार छन् । नगर उपप्रमुख जागेश्वरी चौधरीको पनि प्रमुखमा दाबी छ । चौधरी पार्टीको जिल्ला उपाध्यक्ष, गैरे सचिव र चापागाईं निवर्तमान नगर कमिटी अध्यक्ष तथा पूर्व जिल्ला सचिवालय सदस्य हुन् ।
चापागाईंले अबको तिलोत्तको नेतृत्वमा पार्टीको तर्फबाट आफूलाई अगाडि सार्नुपर्ने बताए । ‘राम्रो काम गरेकाहरू माथिल्लो तहमा जाने हो,’ चापागाईंले भने, ‘विगतमा अन्याय भएकाहरूलाई यो पटक अवसर दिनुपर्छ ।’
चापागाईंले पञ्चायतकालदेखि पार्टी, विद्यार्थी राजनीति, अकोराब, पत्रकार महासंघ, प्रेस चौतारी लगायतका संगठनमा रहेर काम गरेको छन् । चापागाईंमा सबैलाई मिलाएर लैजान सक्ने क्षमता पनि छ । उनी आन्दोलनको अग्रमोर्चामा खटिने नेतामा पर्छन् । यसअघिको निर्वाचमा तिलोत्तमाका १७ वडामध्ये १३ वडामा एमालेको जीत भएको थियो ।
अर्का आकांक्षी यज्ञ गैरेले निरन्तर पार्टी काम र जनताको बीचमा पुगेर काम गरेकाले यस पटक आफूलाई अवसर दिनुपर्ने दाबी गरेका छन् । गैरले नेतृत्वले उपयुक्त निर्णय लिएर आफूलाई परीक्षण गर्ने अवसर दिने विश्वास व्यक्त गरे । गैर बुटवल बहुमुखी क्याम्पसको पूर्व स्ववियू सभापति, ५ कार्यकाल जिल्ला कमिटी हुँदै अहिले एमाले जिल्ला सचिव छन् । गैरले कार्यकर्ता, किसान, मजदुरसँग सुखदुःखमा सँगसँगै काम गरेका छन् ।
२०७१ सालमा स्थापना भएको तिलोत्तमा नयाँ नगरपालिका हो । पछिल्लो ५ वर्षमा तिलोत्तमा वास्तवमै ‘कायापलट’ भएको छ । नेतृत्वको सुझबुझपूर्ण कामले तिलोत्तमाले राष्ट्रिय पहिचान मात्र बनाएन, कैयौ पुराना शहरलाई विकासको तुलनामा माथ दिएको छ ।
आसन्न चुनावमा ५ दलीय गठबन्धन कायमै रहँदा एमालेका लागि विगत जस्तो सहज हुने छैन । तिलोत्तमामा नेकपा एकीकृत समाजवादीको उल्लेख्य प्रभाव छैन तर थोरै भए पनि स्थानीय निर्वाचनमा प्रभाव पर्ने देखिन्छ ।
अघिल्लो चुनावमा नेपाली कांग्रेसले जनमुक्ति पार्टीसँग गठबन्धन गर्दा समेत नगर प्रमुखमा घिमिरेले झण्डै २ हजार ३०० मतान्तरले जितेका थिए । गठबन्धनको चर्चा व्यापक भइरहँदा एमालेले पुनः घिमिरेलाई नै टिकट दिँदा सहज हुने चर्चा पनि छ ।
कांग्रेसले पनि घिमिरे पुनः उम्मेदवार भएमा गाह्रो हुने बताउँछ । किनकि घिमिरेले पार्टीइतरको मत बढी तान्न सक्छन् । कांग्रेसमा तिलोत्तमा नगर प्रमुखमा अघिल्लो निर्वाचनका उपविजेता बनेका रामकृष्ण खाँणको कम चर्चा छ । किनकि उनी अहिले पार्टीको जिल्ला सभापति छन् । कांग्रेस वृत्तमा नेताहरू रोमणिप्रसाद पाठक, गुणनिधि भण्डारी, नारायण न्यौपाने लगायतको चर्चा छ । तिलोत्तमामा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसकै हो तर ५ दलीय गठबन्धन कायम रहँदा तिलोत्तमा कसको भागमा पर्छ, त्यो पनि स्पष्ट छैन ।
कांग्रेस महासमिति सदस्य समेत रहेका पाठकले पार्टी नेतृत्वले सुझबुझ ढंगले अगाडि सारे नेतृत्वका लागि तयार रहेको बताए । उनी कांग्रेसका पूरा नेता हुन् ।
सामाजिक क्षेत्रमा समेत सक्रिय पाठकलाई धेरै कार्यकर्ताले चिन्ने गर्छन् । ‘हाम्रो संगठन तिलोत्तमामा राम्रै छ,’ पाठकले भने, ‘नगरमा १५ प्रतिशत भोटर स्वतन्त्र छन् । ती भोट मैले तान्न सकुँला जस्तो लाग्छ । १५ प्रतिशत भोटर जसले तान्छ उसैले जित्छ ।’ पाठक संस्थापनइतर समूहका नेता हुन् । उद्योगी व्यवसायी समेत रहेका भण्डारी गृहमन्त्री खाँण निकट मानिन्छन् । न्यौपाने पार्टीको नगर सभापतिमा हरिलाल पाण्डेसँग पराजित भएका थिए ।
वर्तमान टीमले उत्कृष्ट काम गरिरहँदा अबको निर्वाचनपछि कस्तो टीम आउँला भन्ने धेरैलाई जिज्ञासा छ । नेकपा एमालेले कसलाई टिकट दिन्छ भन्ने कुरामा अहिले सबैतिर चासो छ । राम्रो काम गरेकाले थप १ कार्यकाल नगर प्रमुखको टिकट बासुदेव घिमिरेलाई नै दिनुपर्ने मत पार्टीभित्र बलियो हुँदै गएको छ भने कतिपयले उनलाई प्रदेश वा संघमा पठाएर काम गर्ने फराकिलो ठाउँ दिनुपर्ने बताउँछन् ।
नगर प्रमुख घिमिरेले आफ्नो उम्मेदवारीका सन्दर्भमा स्पष्ट कुरा त सार्वजनिक गरेका छैनन् तर पार्टीले टिकट दिँदा त्यो जिम्मेवारी पूरा गर्ने निकटवर्तीसँग बताउने गरेका छन् ।
यसको अर्थ उनी आगामी निर्वाचनमा प्रमुखको उम्मेदवार बन्न तयार देखिन्छन् । आगामी नेतृत्व तिलोत्तमाले कस्तो पाउनेछ ? त्यो हेर्न वैशाख ३० नै कुर्नुपर्नेछ ।
शिक्षा, स्वास्थ्य, कृषि, शहरी सौन्दर्य, वातावरण लगायत आर्थिक तथा सामाजिक क्षेत्रमा नगर प्रमुख घिमिरे नेतृत्वको टीमले उल्लेख्य काम गरेको छ । यहीँ कामको मूल्यांकनको आधारमा तिलोत्तमाले उत्कृष्ट नगरपालिकाको पुरस्कार समेत प्राप्त गरेको छ ।
मुलुकभरका ७५३ स्थानीय तहमा चुनावी सरगर्मी बढिरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि चुनावी माहोल बढ्दै गएको छ । वैशाख ३० गतेको मिति नजिकिँदै गर्दा चुनावी चर्चा, परिचर्चा हरेक ठाउँमा हुन थालेको छ । अघिल्लो चुनावबाट निर्वाचित भएर आएका जनप्रतिनिधिले तिलोत्तमामा फरक काम र नौला अभ्यास गरे । यहीँ कारण पनि तिलोत्तमामा चुनावी चर्चा बढी छ ।
तिलोत्तमाका ६ वटा वडा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छन् । रुपन्देही क्षेत्र नम्बर २ एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको क्षेत्र हो । बाँकी क्षेत्र नम्बर ३ मा पर्छन् । जुन एमाले नेता भुसाल र गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्र हो । २०७४ मा यहीँ क्षेत्रमा एमाले नेता भुसाल विजयी भएका थिए । आफू पराजित हुने डरले गृहमन्त्री खाँण समानुपातिकमा बसेका थिए ।