
नेकपाका महासचिव विप्लवले राजनीतिक भेटघाट थालेका छन् । उनले बुधबारमात्रै विभिन्न दलका नेताहरुलाई भेटेर छलफल गरेका छन् । उनले नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका हुन् ।
विप्लवले उनहरुकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् । सो क्रममा विप्लवले एमसीसी विरोधीहरु ध्रुवीकृत हुनुपर्नेमा जोड दिएको बताइएको छ । विप्लवसहितका केही कम्युनिस्ट घटकहरुले एमसीसी विरोधी अभियान चलाइरहेको बेला विप्लवले एमसीसीकै विरोधमा रहेका नेताहरुसँग भेटवार्ता गरेका हुन् ।
भेटपछि नेकपाका प्रवक्ता प्रकाण्डले देशभक्त, राष्ट्रवादी र स्वाधिनताका पक्षधरहरु एकीकृत र ध्रुवीकृत हुनुपर्नेमा जोड दिएका छन् । सो भेटमा प्रकाण्डलगायतका नेताहरु पनि सहभागी रहेको बताइएको छ।