
लोकान्तर डट्कमको नियमित प्रस्तुति ‘लोकान्तर राउण्ड अप’ मा पाठकहरूलाई स्वागत छ । सधैँझै शुक्रबार पनि बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई प्रस्तुत गरिएको छ–
नेपाल आयल निगम (एनओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५/५ रुपैयाँका दरले मूल्य बृद्धि गरेको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेल पनि प्रतिलिटर १३३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
००००
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताको संसदीय अनुमोदन र व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार गरेकोबारे सत्तारूढ गठबन्धनको बैठकमा समीक्षा भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको ४ दलीय सत्तारूढ गठबन्धनका शीर्ष नेताको बैठकमा एमसीसी अनुमोदन र व्याख्यात्मक घोषणालाई अमेरिकाले सहजरूपमा लिएको विश्लेषण भएको बैठकमा सहभागी कांग्रेसका नेता रामचन्द्र पौडेलले लोकान्तरलाई जानकारी दिए ।
००००
गठबन्धनका दलहरूले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि आग्रह गरेका छन् । बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् लामो समयसम्म सञ्चालन नहुँदा जनतामा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्छ भन्ने बारेमा छलफल भएको बताए ।
उनले भने, ‘बैठकले प्रमुख प्रतिपक्ष दललाई संसद्लाई सञ्चालन गर्न राष्ट्रका यावत समस्याको बारेमा संसद्मा छलफल गर्ने वातावरण तयार गर्नका निमित्त आग्रह गर्ने निर्णय गरेको छ ।’
००००
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल कैलाली शाखाले बिहीवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गरे । महासचिव पोखरेलले सभामुख अग्निप्रसाद सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए ।
००००
पछिल्लो २४ घन्टामा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ४९२४ जनामा परीक्षण गर्दा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका दलहरूको बैठक आयोजना गरेर छलफल गरेका नेताहरूले दिउँसो फेरि प्रधानमन्त्रीसँग छुट्टै संवाद गरेका हुन् । प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड र माधव नेपाल बिहीवार दिउँसो ४ बजे बालुवाटार पुगेर छलफल गरेका थिए ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गरेका छन् ।
मध्यपुरथिमि–४ बालकुमारीमा बिहीवार नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिदेखि विरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गरे ।
००००
राप्रपा केन्द्रीय कार्यसमितिको बैठकले कार्यसमितिलाई २५१ सदस्य नबढ्ने गरी सदस्य थप गर्ने निर्णय गरेको छ ।
बिहीवार बसेको बैठकले केन्द्रीय सदस्य र विभागहरूको संख्या थप्ने निर्णय गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
००००
नेकपा माओवादी केन्द्र अमेरिकी सहयोगको एमसीसी सम्झौताका पक्षमा उभिएपछि पार्टीभित्र उत्पन्न विवादलाई अतिरञ्जित नगर्न नेता नारायणकाजी श्रेष्ठले आग्रह गरेका छन् ।
बिहीवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता श्रेष्ठले अध्यक्ष प्रचण्ड र अन्य नेतृत्वसँग पनि छलफल भइरहेको बताए ।
उनले लेखेका छन्, ‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तर्विरोधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढंगले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढंगले नबुझ्न सबैसँग अनुरोध गर्दछु । अध्यक्ष क। प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरूसँग पनि छलफल भइरहेको छ ।’
शुक्रबार माओवादीको केन्द्रीय कमिटी बैठक पनि बस्दै छ ।
००००
नेपाल बार एशोसिएशनको १५औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन २०७८ ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको छ ।
बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई न्यायपालिकामा पुनः स्वीकार गर्न नसक्ने घोषणा गरेको हो ।
००००
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सक्रिय भएका छन् । महासचिव विप्लवले एमसीसीविरुद्ध खरो उत्रिएका सबै नेतासँग भेटवार्ता गरिरहेका छन् ।
यसैक्रममा बिहीवार विप्लवले नेकपा एमाले नेता भीम रावलसँग भेटवार्ता गरेका छन् । रावलनिवास टोखा पुगेर विप्लव र नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले छलफल गरेका हुन् ।
यसअघि विप्लवले एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान विजुक्छेलाई भेटिसकेका छन् ।
००००
बिहीबार ग्याल्बो ल्होसार मनाइएको छ । यो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।
यो पर्वको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।