
किएभको प्रतिरक्षा गरिरहेका मानिसहरूप्रतिको सहानुभूतिले रुस हार्दैछ भन्ने अतिशयोक्ति जन्माइरहेको छ । यसले गर्दा रुसी रणनीतिलाई बुझ्न सकिएको छैन । अनि सिकारु मनोविश्लेषकहरूले पुटिनको मानसिक असन्तुलन देखिएको भन्ने आधारहीन दाबी गरिरहेका छन् ।
तर शान्त भएर विश्लेषण गर्ने हो भने रुसले शुरूमा कठोर प्रहार गरेर युक्रेनलाई सुताउने योजना बनाएको देखिन्छ । आरम्भिक कदमहरू पर्याप्त नभएको खण्डमा त्यसपछिका आक्रमणका लागि पनि उसले मसिना योजना बनाएको पाइन्छ ।
संसारले पहिला पनि पुटिनलाई कम आँकेको थियो र त्यही गल्तीका कारण अहिले युक्रेनले त्रासदी भोगिरहेको छ ।
अहिले युद्ध चलिरहेको छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ ।
तर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका व्यावसायिक मानिस पनि सहानुभूतिको चक्करमा गलत टिप्पणी गरिरहेका छन् ।
युक्रेनमा रुसले आक्रमण गरेलगत्तै अमेरिकी रक्षा मन्त्रालयमा ब्रीफिङ गर्नेहरूले शुरूआती दिनमै रुसले किएभ कब्जा गर्न नसक्नु रुसको ठूलो विफलता हो भनी हत्तपत्त दाबी गरेका थिए ।
निर्धारित समयभित्र किएभले आत्मसमर्पण नगरेकाले रुसको आक्रमण विफल भएको उनीहरूको आशय छ ।
तर अमेरिकाका नेताहरूले अफगानिस्तानबाट बेइज्जतीपूर्ण बहिर्गमनपछि आफ्नो उत्कण्ठालाई नियन्त्रणमा लिन सक्नुपर्थ्यो ।
पुनः एकपटक अमेरिकी र पश्चिमी अधिकारीहरू शत्रु र उसका उद्देश्यलाई बुझ्न नसकेर धरापमा परेका छन् ।
रुसी सेनाको जंगी आक्रमणको तरिका हेर्दा युद्धस्तरको हमलाका लागि ऊ तयार थियो भन्ने देखिन्छ ।
रुसी सैनिकहरू सीमा पार गरेर युक्रेनमा पस्दा त्यहाँको सरकार पतन हुने विश्वास पुटिनले लिएको भनिएको थियो । अहिलेसम्म युक्रेन सरकार दुरुस्त रहेकाले पुटिनको सैन्य कारवाही विफल भइसकेको भनिँदैछ ।
पुटिनले द्रुत गतिमा विजयको आशा गरेका थिए होलान् तर सफलताका लागि उनी शुरूआती चरणमा मात्र निर्भर थिएनन् ।
उल्टो, द्रुत गतिमा शत्रुलाई झुकाउने कारवाही सफल नभएमा देशलाई बलपूर्वक लिनका लागि रुसी सेना तयार थियो ।
सन् २००३ मा इराकमाथि भएको आक्रमणको सम्झना गर्ने अमेरिकीहरूलाई यस योजनाका बारेमा थाहा हुनुपर्ने हो ।
उक्त युद्धको आरम्भमा अमेरिकाको वायुसेनाले सद्दाम हुसेन तथा अन्य महत्त्वपूर्ण नेताको हत्या र सरकार गिराउनका लागि ‘शक यान्ड अ’ अभियान चलाएको थियो । सद्दाम बाँचे तर अमेरिकी सेना उक्त अभियानलगत्तै स्थल आक्रमण गर्न पूर्ण रूपमा तयार थियो ।
परम्परागत अनि हतियारमा आधारित युद्धले समय र स्रोत दुवै खान्छ र यस्तो किसिमको सैन्य कारवाही केही दिनभित्रै टुंगिने भन्ने हुँदैन ।
रुसको आक्रमण चार बेग्लाबेग्लै मोर्चामा भइरहेको छ । पाँचौं मोर्चा पूर्वी युक्रेनमा छ । त्यसलाई पुटिनले अघिल्लो साता स्वतन्त्र घोषणा गरेका थिए । त्यहाँ रुसी सैनिकहरूले युक्रेनी सैनिकहरूलाई रोकेर राखेका छन् जबकि युक्रेनी सैनिकहरू अन्यत्र आवश्यक छन् ।
रुसी सैनिकहरूको ठूलो समूह बेलारुसबाट दक्षिण किएभतर्फ अघि बढिरहेको छ ।
वायु, मोबाइल र निगरानी जत्थाहरूसहित रुसको अग्रपंक्तिका सैनिकहरू किएभबाहिर युक्रेनी सैनिकहरूसँग युद्धको आरम्भदेखि नै लडाइँ गरिरहेका छन् ।
रुसी सैनिकहरूको विशाल जत्था ४० माइल लामो छ । त्यो किएभभन्दा जम्मा २० माइल उत्तरतर्फ छ । किएभको घेराबन्दीका लागि ऊ भेला भएको हो ।
रुसी बलहरू किएभ नियन्त्रणमा लिएर थप दक्षिणतर्फ बढ्दै क्राइमियाको मोर्चामा रहेका सैनिकहरूसँग जोडिए भने युक्रेन दुई टुक्रा हुन्छ । जेलेन्स्की सरकारका लागि यो निकै ठूलो झड्का हुनेछ ।
केही अप्ठ्यारो परेको भए पनि रुसी सैनिकहरू एक हप्तामा विवादित भूभागको ७० माइलभित्र प्रवेश गरिसकेका छन् र किएभ बाहिर तैनाथ छन् ।
यो अव्यस्थित, कमजोर तरिकाले सेना भेला गरिएको र विफल आक्रमण हुँदै हैन ।
बेलारुसबाट दक्षिणमा रहेको किएभतर्फ अघि बढिरहेको रुसको अर्को सैन्य जत्थाले पनि सहयोग गरिरहेको छ । त्यो कुर्स्क नजिक पूर्वतर्फबाट शुरू गरिएको आक्रमण हो ।
किएभ नजिक रहेको रुसी सेनाको जत्थासँग यो मिसिन पुग्ने हो भने यसले युक्रेनी सुरक्षाबललाई चेर्निहिभ र सुमी प्रान्तमा घेराउ गर्न सक्छ । त्यसो हुँदा युक्रेनी सेनालाई अन्यत्र आवश्यक सैनिक र युद्ध सामग्री पुग्न पाउँदैन अनि सरकार उत्तरका दुई प्रान्तबाट विच्छेद हुन पुग्छ ।
पूर्वतर्फ रुसी सैनिकहरूले खार्किभमा बृहद् आक्रमण थालेका छन् । युक्रेनको दोस्रो ठूलो शहर खार्किभ अहिले आक्रमणको चपेटामा छ ।
दक्षिणमा रुसी सैनिकहरूलाई अजोभ सागरबाट उभयचर आक्रमणमार्फत सहयोग प्राप्त भइरहेको छ । उनीहरू क्राइमियाबाट युक्रेनमा प्रवेश गरिरहेका छन् ।
यस मोर्चामा रुसी सैनिकहरू दुईवटा प्रमुख धुरीमा बाँडिएका छन् । एउटा उत्तरपश्चिमतर्फ पिभ्देन्नी बुह नदीको किनारमा छ भने अर्को उत्तरपूर्वमा त्यसै नदीको किनार तथा डोनबास क्षेत्रमा छ । डोनबासलाई रुसले स्वतन्त्र घोषित गरिसकेको छ ।
दक्षिणमा रहेका दुईमध्ये एक सैन्य मोर्चा उत्तरमा रहेका सैनिकहरूसँग जोडिने हो भने उनीहरूले धेरै युक्रेनी सैनिकहरूलाई ‘रिइन्फोर्समेन्ट’ गर्न दिने छैनन् । रुसी सेनाको दुई कोलममध्ये एक लगभग १६० माइल अघि बढिसकेको छ ।
रुसी सैन्य जनरलहरूले कठोर प्रतिकार गरिरहेका नगर र शहरलाई छोडेर अघि बढिरहेका छन् । उनीहरूलाई एक्ल्याएर पछि ‘डील’ गर्ने योजना छ ।
नागरिकहरूमाथि रुसी सुरक्षाबलले आक्रमण बढाएको खबर छ । विशेषगरी खार्किभमा यस्तो भइरहेको छ ।
अहिले त्यहाँ सीमित मात्रामा आर्टिलरी र रकेट आक्रमण भइरहेको छ । नागरिकहरूलाई के हुँदैछ भनी चेतावनीमूलक सन्देश दिनका लागि शायद आक्रमण सीमित गरिएको हो ।
पुटिन सग्लो युक्रेन हात पार्न चाहन्छन् र आवश्यक परेमा आक्रमणलाई कठोर बनाउन पनि उनी हिचकिचाउँदैनन् ।
व्यवस्थित रुसी आक्रमण पुटिनको दिमाग असन्तुलित भएको व्याख्यासँग मिल्दैन ।
कसैलाई पक्का थाहा छैन तर पुटिनको कारवाही सबै कुरा सोचविचार गरेर बसेको शत्रुको जस्तो देखिन्छ ।
युक्रेनमाथि आक्रमण गर्ने उनको निर्णयलाई पागलपन भनी चित्रण गर्नु उनका उत्प्रेरणा र भविष्यमा हुने गतिविधिलाई बेवास्ता गर्ने बहाना मात्र हो ।
रणनीतिक रूपमा पुटिनले युक्रेनमाथिको आक्रमण एक दशकअघिदेखि नै शुरू गरेका थिए । त्यतिखेर उनले जर्जियामा आक्रमण गरेर त्यसलाई बाल्कन क्षेत्रको जस्तो स्थितिमा पुर्याए । जर्जियाको अब्खाजिया र साउथ ओसेटिया क्षेत्रमा कठपुतली शासकहरू उनले स्थापना गरे ।
सन् २०१४ मा पुटिनले युक्रेनको रणनीतिक क्षेत्र क्राइमिया कब्जा गरे अनि रुसमा मिसाए । अहिलेको आक्रमणका लागि त्यो ‘लोन्चप्याड’ साबित भयो ।
यी दुवै कारवाहीका लागि पुटिनले कुनै मूल्य चुकाउनुपरेन ।
अमेरिका र युरोपले उनीमाथि सीमित प्रतिबन्ध लगायो तर इरान आणविक सम्झौता तथा अन्य शीर्ष विषयमा उनीसँग सम्पर्क राखिरह्यो ।
अहिले बलपूर्वक युक्रेन लिनु उनको र रुसको हित अनुकूल छ भनी उनले आकलन गरेका छन् ।
पश्चिमले कूटनीतिक र आर्थिक प्रतिबन्ध लगाउँछ भन्ने कुराको अपेक्षा उनले गरेका थिए । अमेरिका र युरोपेली नेताहरूले त्यसको चेतावनी दिएका पनि थिए ।
युक्रेनीहरूले प्रतिकार गर्लान् र पश्चिमको विरोध यति घनीभूत होला भन्ने कुरालाई पुटिनले आकलन गर्न नसकेका होलान् । तर यसो भन्दैमा उनी पागल हुन् वा उनले यी सम्भावनाहरूमा विचार नगरी आक्रमण गरेका होलान् भन्ने अर्थ लगाउन मिल्दैन ।
पुटिनको योजना सफल हुन्छ कि विफल भन्ने कुरा हेर्न बाँकी छ । तर बलपूर्वक युक्रेनमाथि आक्रमण गर्ने योजना रहेको र उक्त योजना पहिलो दिनदेखि नै कार्यान्वयन गरिएको विषयमा कुनै शंका छैन ।
युक्रेनी बलहरूले कठिन परिस्थितिका बावजूद वीरतापूर्वक लडाइँ गरिरहेका छन् । रुससँग सबैतिर नभए पनि अधिकांश स्थानमा अग्रता छ ।
उसले युक्रेनलाई तीन विभिन्न दिशाबाट आक्रमण गरेको छ । रुससँग सैनिक संख्याका साथै हवाई, जल र हातहतियारको अग्रता छ । उससँग अथाह स्रोतसाधन छ ।
युक्रेनलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त छ । उनीहरूले हतियार उपलब्ध गराइरहेका छन् । तर लडाइँ युक्रेन एक्लैले लडिरहेको छ ।
रुसको आक्रमण कमजोर बन्दै गएको छ भनी अमेरिकीहरूले सन्तोष लिए पनि त्यो तथ्यपूर्ण छैन ।
युक्रेनको नियतिका विषयमा हामी इमान्दार भएनौं भने उसलाई सहयोग गर्न सक्दैनौं ।
द डेली मेलमा प्रकाशित बिल रोगियोको विश्लेषणलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् । रोगियो फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीज नामक संस्थाले प्रकाशन गर्ने लङ वार जर्नलका सम्पादक हुन् । सन् १९९१ देख १९९७ सम्म उनी अमेरिकी सेनामा सिग्नलम्यान र इन्फ्यान्ट्रीम्यान थिए । उनी न्यु जर्सी नेसनल गार्डमा पनि आबद्ध थिए ।