०५ साउन २०८३, मंगलबार

अमेरिकाका पूर्व सैनिक भन्छन्– युक्रेनमा रुसी सेना हार्दैछ भन्ने पश्चिमको भाष्य गलत

फागुन २०, २०७८
अमेरिकाका पूर्व सैनिक भन्छन्– युक्रेनमा रुसी सेना हार्दैछ भन्ने पश्चिमको भाष्य गलत
gettotext.com

किएभको प्रतिरक्षा गरिरहेका मानिसहरूप्रतिको सहानुभूतिले रुस हार्दैछ भन्ने अतिशयोक्ति जन्माइरहेको छ । यसले गर्दा रुसी रणनीतिलाई बुझ्न सकिएको छैन । अनि सिकारु मनोविश्लेषकहरूले पुटिनको मानसिक असन्तुलन देखिएको भन्ने आधारहीन दाबी गरिरहेका छन् । 

तर शान्त भएर विश्लेषण गर्ने हो भने रुसले शुरूमा कठोर प्रहार गरेर युक्रेनलाई सुताउने योजना बनाएको देखिन्छ । आरम्भिक कदमहरू पर्याप्त नभएको खण्डमा त्यसपछिका आक्रमणका लागि पनि उसले मसिना योजना बनाएको पाइन्छ । 

संसारले पहिला पनि पुटिनलाई कम आँकेको थियो र त्यही गल्तीका कारण अहिले युक्रेनले त्रासदी भोगिरहेको छ । 

अहिले युद्ध चलिरहेको छ भन्नेमा हामी स्पष्ट हुनुपर्छ । 

तर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका व्यावसायिक मानिस पनि सहानुभूतिको चक्करमा गलत टिप्पणी गरिरहेका छन् । 

युक्रेनमा रुसले आक्रमण गरेलगत्तै अमेरिकी रक्षा मन्त्रालयमा ब्रीफिङ गर्नेहरूले शुरूआती दिनमै रुसले किएभ कब्जा गर्न नसक्नु रुसको ठूलो विफलता हो भनी हत्तपत्त दाबी गरेका थिए । 

निर्धारित समयभित्र किएभले आत्मसमर्पण नगरेकाले रुसको आक्रमण विफल भएको उनीहरूको आशय छ । 

तर अमेरिकाका नेताहरूले अफगानिस्तानबाट बेइज्जतीपूर्ण बहिर्गमनपछि आफ्नो उत्कण्ठालाई नियन्त्रणमा लिन सक्नुपर्थ्यो ।  

पुनः एकपटक अमेरिकी र पश्चिमी अधिकारीहरू शत्रु र उसका उद्देश्यलाई बुझ्न नसकेर धरापमा परेका छन् ।

रुसी सेनाको जंगी आक्रमणको तरिका हेर्दा युद्धस्तरको हमलाका लागि ऊ तयार थियो भन्ने देखिन्छ । 

रुसी सैनिकहरू सीमा पार गरेर युक्रेनमा पस्दा त्यहाँको सरकार पतन हुने विश्वास पुटिनले लिएको भनिएको थियो । अहिलेसम्म युक्रेन सरकार दुरुस्त रहेकाले पुटिनको सैन्य कारवाही विफल भइसकेको भनिँदैछ । 

पुटिनले द्रुत गतिमा विजयको आशा गरेका थिए होलान् तर सफलताका लागि उनी शुरूआती चरणमा मात्र निर्भर थिएनन् ।

उल्टो, द्रुत गतिमा शत्रुलाई झुकाउने कारवाही सफल नभएमा देशलाई बलपूर्वक लिनका लागि रुसी सेना तयार थियो । 

सन् २००३ मा इराकमाथि भएको आक्रमणको सम्झना गर्ने अमेरिकीहरूलाई यस योजनाका बारेमा थाहा हुनुपर्ने हो । 

उक्त युद्धको आरम्भमा अमेरिकाको वायुसेनाले सद्दाम हुसेन तथा अन्य महत्त्वपूर्ण नेताको हत्या र सरकार गिराउनका लागि ‘शक यान्ड अ’ अभियान चलाएको थियो । सद्दाम बाँचे तर अमेरिकी सेना उक्त अभियानलगत्तै स्थल आक्रमण गर्न पूर्ण रूपमा तयार थियो ।

पुटिनले द्रुत गतिमा विजयको आशा गरेका थिए होलान् तर सफलताका लागि उनी शुरूआती चरणमा मात्र निर्भर थिएनन् । उल्टो, द्रुत गतिमा शत्रुलाई झुकाउने कारवाही सफल नभएमा देशलाई बलपूर्वक लिनका लागि रुसी सेना तयार थियो । 

परम्परागत अनि हतियारमा आधारित युद्धले समय र स्रोत दुवै खान्छ र यस्तो किसिमको सैन्य कारवाही केही दिनभित्रै टुंगिने भन्ने हुँदैन । 

रुसको आक्रमण चार बेग्लाबेग्लै मोर्चामा भइरहेको छ । पाँचौं मोर्चा पूर्वी युक्रेनमा छ । त्यसलाई पुटिनले अघिल्लो साता स्वतन्त्र घोषणा गरेका थिए । त्यहाँ रुसी सैनिकहरूले युक्रेनी सैनिकहरूलाई रोकेर राखेका छन् जबकि युक्रेनी सैनिकहरू अन्यत्र आवश्यक छन् । 

रुसी सैनिकहरूको ठूलो समूह बेलारुसबाट दक्षिण किएभतर्फ अघि बढिरहेको छ । 

वायु, मोबाइल र निगरानी जत्थाहरूसहित रुसको अग्रपंक्तिका सैनिकहरू किएभबाहिर युक्रेनी सैनिकहरूसँग युद्धको आरम्भदेखि नै लडाइँ गरिरहेका छन् । 

रुसी सैनिकहरूको विशाल जत्था ४० माइल लामो छ । त्यो किएभभन्दा जम्मा २० माइल उत्तरतर्फ छ । किएभको घेराबन्दीका लागि ऊ भेला भएको हो ।

रुसी बलहरू किएभ नियन्त्रणमा लिएर थप दक्षिणतर्फ बढ्दै क्राइमियाको मोर्चामा रहेका सैनिकहरूसँग जोडिए भने युक्रेन दुई टुक्रा हुन्छ । जेलेन्स्की सरकारका लागि यो निकै ठूलो झड्का हुनेछ । 

केही अप्ठ्यारो परेको भए पनि रुसी सैनिकहरू एक हप्तामा विवादित भूभागको ७० माइलभित्र प्रवेश गरिसकेका छन् र किएभ बाहिर तैनाथ छन् । 

यो अव्यस्थित, कमजोर तरिकाले सेना भेला गरिएको र विफल आक्रमण हुँदै हैन । 

बेलारुसबाट दक्षिणमा रहेको किएभतर्फ अघि बढिरहेको रुसको अर्को सैन्य जत्थाले पनि सहयोग गरिरहेको छ । त्यो कुर्स्क नजिक पूर्वतर्फबाट शुरू गरिएको आक्रमण हो । 

किएभ नजिक रहेको रुसी सेनाको जत्थासँग यो मिसिन पुग्ने हो भने यसले युक्रेनी सुरक्षाबललाई चेर्निहिभ र सुमी प्रान्तमा घेराउ गर्न सक्छ । त्यसो हुँदा युक्रेनी सेनालाई अन्यत्र आवश्यक सैनिक र युद्ध सामग्री पुग्न पाउँदैन अनि सरकार उत्तरका दुई प्रान्तबाट विच्छेद हुन पुग्छ । 

पूर्वतर्फ रुसी सैनिकहरूले खार्किभमा बृहद् आक्रमण थालेका छन् । युक्रेनको दोस्रो ठूलो शहर खार्किभ अहिले आक्रमणको चपेटामा छ । 

दक्षिणमा रुसी सैनिकहरूलाई अजोभ सागरबाट उभयचर आक्रमणमार्फत सहयोग प्राप्त भइरहेको छ । उनीहरू क्राइमियाबाट युक्रेनमा प्रवेश गरिरहेका छन् । 

यस मोर्चामा रुसी सैनिकहरू दुईवटा प्रमुख धुरीमा बाँडिएका छन् । एउटा उत्तरपश्चिमतर्फ पिभ्देन्नी बुह नदीको किनारमा छ भने अर्को उत्तरपूर्वमा त्यसै नदीको किनार तथा डोनबास क्षेत्रमा छ । डोनबासलाई रुसले स्वतन्त्र घोषित गरिसकेको छ । 

दक्षिणमा रहेका दुईमध्ये एक सैन्य मोर्चा उत्तरमा रहेका सैनिकहरूसँग जोडिने हो भने उनीहरूले धेरै युक्रेनी सैनिकहरूलाई ‘रिइन्फोर्समेन्ट’ गर्न दिने छैनन् । रुसी सेनाको दुई कोलममध्ये एक लगभग १६० माइल अघि बढिसकेको छ । 

रुसी सैन्य जनरलहरूले कठोर प्रतिकार गरिरहेका नगर र शहरलाई छोडेर अघि बढिरहेका छन् । उनीहरूलाई एक्ल्याएर पछि ‘डील’ गर्ने योजना छ । 

नागरिकहरूमाथि रुसी सुरक्षाबलले आक्रमण बढाएको खबर छ । विशेषगरी खार्किभमा यस्तो भइरहेको छ । 

अहिले त्यहाँ सीमित मात्रामा आर्टिलरी र रकेट आक्रमण भइरहेको छ । नागरिकहरूलाई के हुँदैछ भनी चेतावनीमूलक सन्देश दिनका लागि शायद आक्रमण सीमित गरिएको हो । 

पुटिन सग्लो युक्रेन हात पार्न चाहन्छन् र आवश्यक परेमा आक्रमणलाई कठोर बनाउन पनि उनी हिचकिचाउँदैनन् । 

व्यवस्थित रुसी आक्रमण पुटिनको दिमाग असन्तुलित भएको व्याख्यासँग मिल्दैन ।

कसैलाई पक्का थाहा छैन तर पुटिनको कारवाही सबै कुरा सोचविचार गरेर बसेको शत्रुको जस्तो देखिन्छ । 

युक्रेनमाथि आक्रमण गर्ने उनको निर्णयलाई पागलपन भनी चित्रण गर्नु उनका उत्प्रेरणा र भविष्यमा हुने गतिविधिलाई बेवास्ता गर्ने बहाना मात्र हो । 

रणनीतिक रूपमा पुटिनले युक्रेनमाथिको आक्रमण एक दशकअघिदेखि नै शुरू गरेका थिए । त्यतिखेर उनले जर्जियामा आक्रमण गरेर त्यसलाई बाल्कन क्षेत्रको जस्तो स्थितिमा पुर्‍याए । जर्जियाको अब्खाजिया र साउथ ओसेटिया क्षेत्रमा कठपुतली शासकहरू उनले स्थापना गरे । 

सन् २०१४ मा पुटिनले युक्रेनको रणनीतिक क्षेत्र क्राइमिया कब्जा गरे अनि रुसमा मिसाए । अहिलेको आक्रमणका लागि त्यो ‘लोन्चप्याड’ साबित भयो । 

युक्रेनीहरूले प्रतिकार गर्लान् र पश्चिमको विरोध यति घनीभूत होला भन्ने कुरालाई पुटिनले आकलन गर्न नसकेका होलान् । तर यसो भन्दैमा उनी पागल हुन् वा उनले यी सम्भावनाहरूमा विचार नगरी आक्रमण गरेका होलान् भन्ने अर्थ लगाउन मिल्दैन । 

यी दुवै कारवाहीका लागि पुटिनले कुनै मूल्य चुकाउनुपरेन । 

अमेरिका र युरोपले उनीमाथि सीमित प्रतिबन्ध लगायो तर इरान आणविक सम्झौता तथा अन्य शीर्ष विषयमा उनीसँग सम्पर्क राखिरह्यो । 

अहिले बलपूर्वक युक्रेन लिनु उनको र रुसको हित अनुकूल छ भनी उनले आकलन गरेका छन् । 

पश्चिमले कूटनीतिक र आर्थिक प्रतिबन्ध लगाउँछ भन्ने कुराको अपेक्षा उनले गरेका थिए । अमेरिका र युरोपेली नेताहरूले त्यसको चेतावनी दिएका पनि थिए । 

युक्रेनीहरूले प्रतिकार गर्लान् र पश्चिमको विरोध यति घनीभूत होला भन्ने कुरालाई पुटिनले आकलन गर्न नसकेका होलान् । तर यसो भन्दैमा उनी पागल हुन् वा उनले यी सम्भावनाहरूमा विचार नगरी आक्रमण गरेका होलान् भन्ने अर्थ लगाउन मिल्दैन । 

पुटिनको योजना सफल हुन्छ कि विफल भन्ने कुरा हेर्न बाँकी छ । तर बलपूर्वक युक्रेनमाथि आक्रमण गर्ने योजना रहेको र उक्त योजना पहिलो दिनदेखि नै कार्यान्वयन गरिएको विषयमा कुनै शंका छैन । 

युक्रेनी बलहरूले कठिन परिस्थितिका बावजूद वीरतापूर्वक लडाइँ गरिरहेका छन् । रुससँग सबैतिर नभए पनि अधिकांश स्थानमा अग्रता छ । 

उसले युक्रेनलाई तीन विभिन्न दिशाबाट आक्रमण गरेको छ । रुससँग सैनिक संख्याका साथै हवाई, जल र हातहतियारको अग्रता छ । उससँग अथाह स्रोतसाधन छ । 

युक्रेनलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त छ । उनीहरूले हतियार उपलब्ध गराइरहेका छन् । तर लडाइँ युक्रेन एक्लैले लडिरहेको छ । 

रुसको आक्रमण कमजोर बन्दै गएको छ भनी अमेरिकीहरूले सन्तोष लिए पनि त्यो तथ्यपूर्ण छैन । 

युक्रेनको नियतिका विषयमा हामी इमान्दार भएनौं भने उसलाई सहयोग गर्न सक्दैनौं ।

द डेली मेलमा प्रकाशित बिल रोगियोको विश्लेषणलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् । रोगियो फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसीज नामक संस्थाले प्रकाशन गर्ने लङ वार जर्नलका सम्पादक हुन् । सन् १९९१ देख १९९७ सम्म उनी अमेरिकी सेनामा सिग्नलम्यान र इन्फ्यान्ट्रीम्यान थिए । उनी न्यु जर्सी नेसनल गार्डमा पनि आबद्ध थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्