
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेलले अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) कार्यान्वयनका नाममा अमेरिकी सेना र सीआईएका ३ हजार कर्मचारी नेपालमा आउने दाबी गरेका छन् ।
अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको विरोधमा साना ६ दलले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कट्टेलले एमसीसी कार्यान्वयनका नाममा नेपाललाई आईपीएस (इण्डो प्यासिफिक स्ट्राटेजी)को अखडा बनाउन खोजेको आरोप लगाएका हुन् ।
‘अमेरिकी सेना नै आउँछ भनेर म भन्दिनँ । तर एमसीसी कार्यान्वयन गर्ने नाममा ३ हजार अमेरिकी कर्मचारी आउँछन्, ती आउनेहरू अमेरिकी सेना र सीआईएका कर्मचारी हुन्,’ कट्टेलले भने, ‘एमसीसीको नाममा नेपालमा आईपीएसको अखडाको हेडक्वार्टर बनाउन खोजेका छन् ।’
कट्टेलले २०१८ सालतिर अमेरिकाको उक्साहटमा नेपालमा खम्पा विद्रोह गराइएको र आज पनि कयौँ शिविरमा तिब्बती शरणार्थीको नाममा चीनविरोधी गतिविधि चलिरहेको दाबी गरे । ‘अहिले पनि नेपालका अग्ला डाँडामा गुम्बा बनाइएको छ, त्यहाँ राता लुगा लगाएका अमेरिकीको संख्या छ, हतियार सुसज्जित गरेर दलाइ लामाका प्रतिनिधि राखिएको छ,’ उनले भने, ‘यस्तो ठाउँमा गुम्बा बनाइएको छ, नेपालका ब्यारेक हान्न सक्ने ठाउँमा छ, नेपालीलाई त्यहाँ प्रवेश छैन ।’