३१ जेठ २०८३, आइतबार

किन हराउँछन् बाघ गणनाका लागि राखिएका क्यामेरा ?

फागुन २३, २०७८
किन हराउँछन् बाघ गणनाका लागि राखिएका क्यामेरा ?

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका स्वचालित चार वटा क्यामेरा हराएका छन् । 

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत नरेन्द्र अर्यालका अनुसार कृष्णपुर नगरपालिकाको दोमिल्लामा दुई, डडेल्धुराको आलिताल र चिरकिट्टेमा एक/एक गरी चार वटा क्यामेरा हराएका छन् । 

‘बाघ गणनाका लागि राखिएका ठाउँमा क्यामेरा फेला परेका छैनन्,’ उनले भने, ‘कसले कुन प्रयोजनका लागि निकालेर लगेको भन्नेबारे अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार निकुञ्ज क्षेत्रभित्रै एउटा क्यामेरा हात्तीले फुटालेको र अर्को राखेको ठाउँभन्दा ५० मिटर पर बाघले तानेर छाडेको भेटिएको छ । बाघ गणनाका लागि निकुञ्जले त्यसको आसपास क्षेत्रमा स्वचालित क्यामेरा जडान गरेको हो । 

शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको २६० वटा ग्रीडमा विभाजन गरी बाघ गणनाको कार्य अगाडि बढाइएको थियो ।  निकुञ्जले ५२० वटा स्वचालित क्यामेरा जडान गरी बाघ गणनाको कार्य गरेको छ ।  

निकुञ्जअन्तर्गतका चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी र हिरापुर गरी चार स्थानमा, डिभिजन वन कार्यालय कञ्चनपुरअन्तर्गत तिलकेनी, बेदकोट, दोमिल्ला र डाडाजाई गरी चार र डडेल्धुराका आलिताल, नाउला र चिरकिटेमा गरी ११ स्थानमा क्याम्प राखेर बाघ गणनाको कार्य गरिएको छ ।

जम्मा २० क्याम्पमा ७० प्राविधिक र पाँच वटा हात्ती खटाएर गणना कार्य गरिएको अधिकृत अर्यालको भनाइ छ । माघ २९ देखि २१ दिनसम्म बाघ गणनाको कार्य गरिएको हो ।

बाघ गणनाका लागि राखिएका स्वचालित क्यामेराले खिचेका फोटो ग्रिडअनुसार छुट्याउने कार्यमा प्राविधिकको टोलीले काम अगाडि बढाएको छ ।

अधिकृत अर्यालले भने, ‘फोटो छुट्याउने कार्य सम्पन्न भएपछि विश्लेषणका लागि विभागमा पठाउँछौँ ।’

फोटो विश्लेषणका आधारमा विभागले बाघको सङ्ख्या यकिन गरी सार्वजनिक गर्ने उनले बताए । गत वर्षको तुलनामा बाघको उपस्थिति उत्साहजनक रहेको उनको भनाइ छ । 

गत वर्षको गणनामा निकुञ्जमा १७ बाघ देखा परेका थिए । निकुञ्जमा बाघ गणना सन् २००९ देखि हुँदै आएको छ । 

सरकारले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पुर्‍याउने लक्ष्य लिएको छ । शुक्लाफाँटा ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्ज, थोरै क्षेत्रफलमा धेरै बाघ भएको क्षेत्रका रुपमा समेत परिचित छ ।

salt training

कमेन्ट गर्नुहोस्