२३ असार २०८३, मंगलबार

मुख्यमन्त्री पोखरेलको मधेश भ्रमण पूरा, पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न पहल

फागुन २३, २०७८
मुख्यमन्त्री पोखरेलको मधेश भ्रमण पूरा, पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न पहल
फाइल फोटो

मधेश प्रदेशको ३ दिने भ्रमण सकेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली सोमवार पोखरा फर्केको छ । 

जनकपुर विमानस्थलमा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, प्रमुख सचिव कृष्णबहादुर रावत सहितको टोलीले पोखरेललाई बिदाइ गरेको हो । 

टोलीलाई गण्डकीमा आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मा सहितको टोलीले पोखरा विमानस्थलमा स्वागत गरेको थियो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणामा गण्डकीका मुख्यमन्त्री पोखरेल नेतृत्वमा १८ जनाको टोली शनिवार जनकपुर पुगेको थियो । 

पोखरा विमानस्थलमा मुख्यमन्त्री पोखरेलले प्रदेशबीचको सद्भावना भ्रमणमा संघीयता कार्यान्वयनका सन्दर्भमा भोगेका कठिनाइबारे मधेशका मुख्यमन्त्रीसँग गम्भीर विषयमा छलफल भएको बताए । 

‘संविधानमा उल्लेखित अधिकार हस्तान्तरणमा समेत केन्द्रले चासो दिएको छैन, यसका लागि प्रदेशले एक भएर आवाज उठाउनु पर्नेछ । यसबारेमा हामीले गम्भीर छलफल गरेका छौं,’ उनले भने । 

प्रदेशका समस्यालाई एकीकृत रूपमा प्रधानमन्त्रीलाई बुझाउनु अगाडि ७ वटै प्रदेशका मुख्यमन्त्रीको संयुक्त बैठक गरेर बुँदा तयार पार्नुपर्ने उनले बताए । उनले भने, ‘यसअघि पनि मुख्यमन्त्रीहरूको भेला पोखरामा भएको थियो, अहिले परिवेश फेरिएको छ, म ७ वटै प्रदेशका माननीय मुख्यमन्त्रीज्यूहरूलाई पोखरामा निमन्त्रणा गर्दछु ।’  

३ दिनको बीचमा मधेशका ६ जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन गरेर धेरै जानकारी हासिल गरेको मुख्यमन्त्री पोखरेलले बताए । जानकी मन्दिर, पोखरा र मुक्तिनाथको सम्बन्ध स्थापित गरेर धार्मिक पर्यटनमा प्रवद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो । 

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले २ प्रदेशबीचमा असल अभ्यासलाई आपसमा अनुकरण जाने प्रतिबद्धता जनाए । उनले भने, ‘संघीयता मजबुत गर्न हामी एक भएर संघसँग लड्नुपर्ने छ, संघीयता महसूस गराउने नै प्रदेशले हो ।’

निजी क्षेत्रको उडान कम्पनी बुद्ध एअरले पोखरा–जनकपुर उडान शुरू गरेकै दिन शनिवार पोखरेल नेतृत्वको टोली जनकपुर पुगेको थियो । 

गण्डकीको भ्रमण टोलीमा अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’, उद्योग तथा पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, प्रमुख सचिव रवीलाल पन्थ, पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अर्जुन पोखरेल, नाट्टा पोखरा च्याप्टर अध्यक्ष सञ्जय सिग्देल, महासचिव कमला गिरी, पूर्व अध्यक्ष सन्तोष पोखरेल पर्यटन व्यवसायी एवं उद्योगी छन् । नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) पोखरा च्याप्टरले भ्रमणका लागि सहजीकरण गरेको थियो । 

गण्डकी प्रदेशको राजधानी पोखराबाट ७ वटै प्रदेशमा एयर कनेक्टिभिटी बढाउने लक्ष्यका साथ प्रदेश सरकारले समन्वय गर्दै आएको छ । जनकपुर–पोखरा अब हप्ताको ३ दिन उडान हुनेछ । यसअघि मधेश प्रदेशको सिमरासम्म पोखराबाट बुद्ध एयर उडान थालिसकेको छ ।

सुदूरपश्चिमको धनगढीमा पनि बिहीवारबाट उडान शुरू भएको छ । भैरहवा, नेपालगञ्ज र भरतपुरमा पनि पोखराबाट उडान हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्