

काठमाडौं, २२ असार– साउदी अरबले जानकारी दिएको छ कि कतारमाथि अन्य खाडी मुलुकले लगाएको प्रतिबन्ध जारी रहने छ ।
कतारमाथि ‘आतंकवादीलाई पोषण’ गरेको आरोप लगाउँदै अन्य खाडी मुलुकहरुले उसँगको कुटनीतिक सम्बन्ध तोडेका थिए । र कतारमाथि आर्थिक नाकाबन्दी पनि लगाएका छन् । 
कुटनीतिक सम्बन्ध तोड्ने देशहरुले कतारलाई केही सर्तहरुको सूची पठाएका थिए । तर कतारले ती सर्त मान्न इन्कार गरिदिएको छ । ती सर्तहरुबारे जवाफ दिन कतारलाई बुधबारसम्मको समय सीमा तोकिएको थियो । जो सकिसकेको छ ।
साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई) का विदेश मन्त्रीबीच इजिप्टको कायरोमा बैठक बसेको थियो । उक्त बैठकमा कतारले सर्तहरु नमान्ने भनेर पठाएको जवाफबारे छलफल भएको छ । र छलफलमा कतारको उक्त कदमको भत्सर्ना गरिएको छ ।
ती देशका अधिकारीहरुको भनाइ छ कि कतार स्थितिलाई गम्भीर तरिकाले लिइरहेको छैन । साउदी अरब, इजिप्ट, युएई र बहराइनले कतारमाथि जिहादी गुटलाई मद्दत गर्ने गरेको आरोप लगाएका छन् । 
यी देशले कतारको नीतिमा परिवर्तन गरिनुपर्ने माग गरेका थिए । कतारसँग समाचार च्यानल अल जजीर बन्द गर्नुपर्नेदेखि ईरानसँगको सम्बन्ध तोड्नुपर्ने सम्मका कयौं माग राखिएका थिए ।
खाडी देशका विदेश मन्त्रीको वैठकभन्दा पहिले कतारका विदेश मन्त्री शेखÞ मोहम्मद बिन अब्दुल रहमान अल थानी भनेका थिए, ‘कतारसँग सम्बन्ध तोड्नुको अर्थ कतारमाथि घेरबन्दी हो । जो समान्यतया अपमान र आक्रामकताको प्रमाण हो ।’
उनले यो पनि भनेका थिए, ‘असहमतिको जवाफ प्रतिबन्ध र अल्टीमेटम हुन सक्दैन् । बरु वार्ता र तर्क हुन सक्छ ।’
अब के होला ?
६ जुनः साउदी अरब, इजिप्टसहित अन्य देशले गल्फ क्षेत्रलाई अस्थिर बनाएको आरोप लगाउँदै कतारसँग कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका थिए । कतारका लागि हवाई क्षेत्र पनि बन्द गरिएको थियो ।
८ जुनः कताले भनेको थियो कि उ आफ्नो विदेश नीतिको स्वतन्त्रता समर्पण गर्ने छैन । अमेरिकाले खाडी देशबीच एकताका लागि अपिल गरेको थियो ।
२३ जुनः कतारसमक्ष १३ वटा माग (सर्त)को सूची थमाइएको थियो । र ती सर्तहरु मान्न १० दिनको समय दिइएको थियो । त्यसमा समाचार च्यानल अल जजीरा बन्द गनुपर्ने, टर्कीमा रहेको सैन्य अड्डा बन्द गर्नुपर्नेे, मुस्लिम ब्रदहुडसँगको सम्बन्ध तोड्नु पर्ने, ईरानसँगको कुटनीतिक सम्बन्ध तोड्नुपर्ने लगायत माग थिए ।
१ जुलाई: कतारका विदेश मन्त्री भने कि खाडी देशले अगाडि सारेका सर्त कतारले मान्ने छैन । तर सही परिस्थितिमा वार्ताका लागि तयार छ ।
३ जुलाई: साउदी र उसका सहयोगी देशले सर्त मान्नका लागि कतारलाई दिइएको अल्तिमेटमको समय ४८ घण्टा बढाएका थिए ।
बीबीसीको सहयोगमा