
युक्रेनमाथि रुसले आक्रमण गरेको १५ दिन पुग्दासम्म युक्रेनी राष्ट्रपति भोलोदीमीर जेलेन्स्की गलिसकेको देखिएको छ । जेलेन्स्की गल्नु भनेको अमेरिका र पश्चिमको पराजय हो ।
मंगलवार एबीसी न्युजसँगको अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेन नेटोको सदस्य नबनोस् भनी रुसले राखेको माग पूरा गर्न तयार रहेको बताए । युक्रेन नेटोको सदस्य बन्दा आफूलाई भूसुरक्षा जोखिम आइलाग्छ भनी रुसले त्यसलाई रोक्न विभिन्न प्रयास गरेको थियो । केही नलागेपछि रुसले युक्रेनविरुद्ध सैन्य कारवाही नै चलायो ।
रुसले आफूमाथि आक्रमण गरेपछि पश्चिमाहरू सहयोग गर्न आउने र रुसलाई परास्त गर्ने आशा जेलेन्स्कीले लिएका थिए । तर नेटोको सदस्य नरहेकाले उक्त सैन्य गठबन्धन युक्रेनको प्रतिरक्षाका लागि आउने सम्भावना नै थिएन ।
अझ, अमेरिकाले रुससँगको महाशक्ति प्रतिस्पर्धामा युक्रेनलाई गोटी मात्र बनाएको कुरा जेलेन्स्कीले धेरैजनाको ज्यान गएपछि बल्ल बुझेको देखिन्छ । रुसले वर्षौंदेखि युक्रेनलाई तटस्थ रहनका लागि राखेको माग युक्रेनले पहिल्यै मानेको भए धनजनको क्षति हुने थिएन ।
युद्ध शुरू हुनुअघि जेलेन्स्की युक्रेनलाई नेटोको सदस्य बनाइछाड्ने जिद्दी गर्थे । उनको यस जिद्दीको कारणका बारेमा बुझ्न इतिहास खोतल्नु आवश्यक छ ।
वास्तवमा युक्रेनका धनाढ्य (ओलिगार्क) इहोर कोलोमोइस्कीले रुसविरोधी एजेन्डालाई तल्लो तहसम्म पुर्याउनका लागि जेलेन्स्कीलाई छानेका थिए ।
राजनीतिमा आउनुअघि जेलेन्स्की हास्यकलाकार थिए । कमेडियनका रूपमा उनले कोलोमोइस्कीको टेलिभिजन च्यानल १+१ मा जनताको सेवक (सर्भेन्ट अफ द पिपुल) नामक शो चलाउने गरेका थिए । कोलोमोइस्कीसँग जेलेन्स्कीको निकै धेरै हिमचिम थियो ।
तिनै कोलोमोइस्कीले जेलेन्स्कीको चुनावी अभियानमा पनि लगानी गरेका थिए । अर्का ओलिगार्क पेट्रो पोरोशेन्कोलाई पछार्नका लागि कोलोमोइस्कीले जनतामाझ लोकप्रिय हास्यकलाकार जेलेन्स्कीलाई अघि सारे । ओलिगार्कहरूको भ्रष्टाचार र रवाफबाट वाक्कदिक्क भएका युक्रेनीहरूले आफू जस्तै सामान्य व्यक्ति जेलेन्स्कीलाई राष्ट्रपति बनाए ।
राष्ट्रपति बनेपछि रुससँगको सम्बन्ध सुधार्ने वाचा जेलेन्स्कीले गरेका थिए । तर उनी पोरोशेन्कोभन्दा पनि कठोर बन्दै युक्रेन र रुसबीच सहमति भएको अनि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले ग्रहण गरेको मिन्स्क सम्झौतालाई नमान्ने भन्न थाले ।
युक्रेनलाई युरोपेली संघ र नेटोको सदस्य पनि बनाइछाड्ने भनी उनी जिद्दी गर्न थाले । उनलाई यसका लागि युक्रेनका उग्रराष्ट्रवादी नवनाजीहरूले पनि बाध्य बनाएका हुन् ।
रुसले सैन्य कारवाही शुरू गरेपछि जेलेन्स्कीले झनै चर्को स्वरमा युक्रेनलाई पश्चिमी खेमाको सदस्य बनाउन आह्वान गरे । तर आफ्नो देशको पूर्ण क्षेत्रफलमा नियन्त्रण नराख्ने मुलुकलाई नेटोले सदस्य बनाउँदैन ।
डोनेत्स्क र लुहान्स्क क्षेत्रमा युक्रेनको नियन्त्रण नरहेकाले ऊ नेटोको सदस्य बन्न सक्दैनथियो । रुससँग भिडन्त गर्न अनि विवादास्पद कुरामा हात हाल्न डराउने भएकाले नेटोको सदस्य युक्रेन बन्दैन भन्ने आफूले बुझेको जेलेन्स्कीको भनाइ छ ।
अनि जर्मनी र फ्रान्स जस्ता मुलुकले युक्रेनलाई युरोपेली संघको सदस्य बनाउन समेत नसकिने बताएका छन् । युक्रेनले त्यसका लागि निवेदन दिने भने पनि त्यसको सदस्य बन्ने प्रक्रिया निकै जटिल छ ।
टर्कीले दशकौंदेखि यसका लागि प्रयास गरेको भए पनि सफलता पाएको छैन । रुसले राखिरहेको यस मागलाई पनि जेलेन्स्कीले पूरा गर्ने भएका छन् ।
यसबाहेक रुसले राखेको अर्को दुई मागमा पनि जेलेन्स्कीे सम्झौताका लागि आफू खुला रहेको बताएका छन् । डोनेत्स्क र लुहान्स्कलाई सार्वभौम मुलुकको मान्यता दिने तथा क्राइमियालाई रुसकै भूभाग मान्ने विषयमा समेत आफू लचिलो बन्ने संकेत उनले दिएका छन् । संविधान संशोधन गरेर युक्रेनलाई कुनै पनि गठबन्धनमा सामेल नगराउने भनी रुसले राखेको माग चाहिँ जेलेन्स्कीले पूरा गर्न मानेका छैनन् किनकि त्यसो गर्दा युक्रेनको सार्वभौमसत्ता गुमेर रुसको स्याटेलाइट राज्य मात्र बनिने उनको सोच छ ।
जे होस्, रुसका सबै प्रमुख मागहरू पूरा गर्न जेलेन्स्की तयार रहेको देखिन्छ । आफ्नो सेनाले रुसको प्रतिकार गर्न नसकेको अनि आफूलाई पश्चिमबाट सार्थक सहयोग पनि प्राप्त नभएको बुझेरै जेलेन्स्कीको भनाइ आएको हो ।
पश्चिमी सञ्चारमाध्यमले सूचना युद्ध तथा मनोवैज्ञानिक युद्ध चलाएर रुसको हार हुँदैछ भनी हल्ला फिँजाएको भए पनि युक्रेनमा रुसी फौजको लगातार विजय भइरहेको तथ्यलाई जेलेन्स्कीले प्रकारान्तरले स्वीकार गरिसकेका छन् । अब यस व्यर्थ प्रतिकारलाई अघि बढाइरहँदा थप निर्दोषहरूको ज्यान जान्छ भन्ने कुरालाई जेलेन्स्कीले बुझेको हुनुपर्छ ।
पश्चिमको कायरपना तथा अविश्वसनीयतालाई जेलेन्स्कीले कठोर पाठ पढेपछि थाहा पाए । तर यस प्रकरणले अमेरिकाको बाइडन प्रशासन कति कमजोर रहेछ अनि अमेरिका महाशक्ति प्रतिस्पर्धामा कागजी बाघ मात्र रहेछ भन्ने कुरालाई पनि साबित गरेको छ ।
जेलेन्स्कीको बयानलाई अमेरिकी प्रशासनले नकाटेको देख्दा अमेरिका पनि युक्रेनलाई नेटोको सदस्य बनाउने विषयमा उत्साहित नरहेको थाहा हुन्छ । युक्रेनलाई नेटोको सदस्य नबनाउनु नै थियो र सार्थक सहयोग नगर्नु नै थियो भने यत्तिका मानिसको ज्यान जाने रुसी सैन्य कारवाहीको वातावरण अमेरिकाले किन बनायो भनेर पनि प्रश्न सोध्न सकिन्छ ।
वास्तवमा यस प्रकरणले अमेरिका तथा नेटोको विश्वसनीयता धूलिसात् बनाएको छ ।
सानो मुलुकलाई दुःख आइपर्दा अमेरिका र नेटोले कुनै सहयोग गर्दैनन् भन्ने भाष्य युक्रेन युद्धले स्थापित गरेको छ । ठूला छिमेकीको छायाँमा रहेका मुलुकहरूले छिमेकीको लक्ष्मणरेखालाई सम्मान दिनुपर्ने पाठ यसबाट सिकेको हुनुपर्छ ।
बाइडन प्रशासन यस प्रकरणमा कतिसम्म निरीह देखियो भने उसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्ने रुसमाथि सार्थक प्रतिबन्ध समेत लगाउन सकेन । युक्रेनी लोकतन्त्रको रक्षाका लागि रुसमाथि प्रतिबन्ध लगाएको भने पनि अमेरिकी प्रतिबन्धले रुसलाई कुनै असर पारेन, उल्टो पुटिनलाई सैन्य कारवाही चर्काउन उत्प्रेरित गरिदियो ।
रुसको तेल र ग्यासमाथि प्रतिबन्ध लगाउने भनी बाइडनले घोषणा त गरेका त छन् तर त्यसो गर्नु भनेको आफ्नै गोडामा बञ्चरो हाने बराबर हो । प्रशोधित रुसी तेलको विकल्प खोज्न सहज छैन ।
अन्य ठाउँबाट तेल ल्याउँदा अमेरिकाका प्रशोधन केन्द्रले अतिरिक्त खर्च गर्नुपर्ने हुन्छ र तेलको दाम बढ्छ । अमेरिकामा अहिले नै तेलको मूल्य चर्को भएकाले जनतामा चरम असन्तुष्टि छ ।
विश्वव्यापी आपूर्तिमा समस्या आउने देखेपछि रुसी तेलको विकल्पको खोजीमा बाइडन प्रशासनले बेइज्जती समेत सहनुपरेको छ । द वाल स्ट्रीट जर्नलले दिएको खबरअनुसार, बाइडनले साउदी अरब र यूएईका नेतालाई तेल आपूर्तिका विषयमा कुरा गर्नका लागि फोन गर्दा उनीहरूले फोनै उठाएनन् जबकि पुटिनले फोन गर्दा उनीहरूले उठाएका थिए ।
त्यससँगै भेनेजुएलाबाट तेल लिन सकिन्छ कि भनी अमेरिकाले कोशिश गरेको थियो जबकि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकाले निरन्तर दानवीकरण गरिरहेको थियो । अमेरिकाले समाजवादी मुलुक भेनेजुएलालाई आर्थिक प्रतिबन्धमार्फत झुकाउनलाई गरेको प्रपञ्च मदुरोले भुलेका छैनन् र आफूलाई गाह्रो परेको बेलामा रुसले गहुँ पठाएर सहयोग गरेको गुन पनि बिर्सेका छैनन् ।
त्यसैले भेनेजुएलालाई फकाउने अमेरिकी प्रयास सफल भएन र यसले अमेरिका लुगा नलगाएको बादशाह रहेछ भनी प्रमाणित गरिदियो । कूटनीतिको साटो बलमिच्याइँमा विश्वास गर्ने अमेरिकाको एकध्रुवीय अहंकारलाई यस प्रकरणले चकनाचुर पारेको छ ।
युरोपलाई रुसको तेल र ग्यास लिनबाट रोक्न पनि अमेरिकाले सकेन । रुसी तेल र ग्यास रोक्दा आफूहरूको अर्थतन्त्र धराशायी हुने हुँदा युरोपेलीहरूले अमेरिकाको दबाबलाई दुत्कारेका छन् । यस प्रकरणले युरोपेली संघलाई रणनीतिक स्वायत्तता कायम राख्न प्रेरणा दिनुपर्ने हो किनकि अहिलेसम्म ऊ अमेरिकाको ‘जुनियर पार्टनर’कै हैसियतमा छ ।
हिन्द–प्रशान्त क्षेत्रमा चीनको घेराबन्दीका लागि नेटो गठन गर्न खोजिरहेको अमेरिकालाई यस प्रकरणले धक्का दिएको छ ।
चीनका परराष्ट्रमन्त्री वाङ यीले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा अकस, क्वाड र फाइभ आइन अलायन्स मार्फत अमेरिकाले नेटो बनाउन खोजिरहेको दाबी यसै साता गरेका छन् । तर युक्रेनको हविगत देखेका हिन्द–प्रशान्त क्षेत्रमा रहेका दक्षिणपूर्वी तथा दक्षिण एसियाली मुलुकहरूले नयाँ नेटोलाई विश्वास गर्लान् भनी सोच्न सकिँदैन ।
बरू चीन विश्वसनीय सहयोगी भएको कुरालाई युक्रेन युद्धले साबित गरिदियो । पश्चिमले रुसको निन्दा गर्न तथा उसमाथिको प्रतिबन्धलाई सदर गर्न चीनलाई फकाउनेदेखि धम्की दिनेसम्मको काम गरेको भए पनि चीनले रुसलाई सधैं साथ दिइरह्यो ।
पश्चिम र चीनको चरित्रका विषयमा संसारले गर्ने आकलनले बहुध्रुवीय विश्व व्यवस्थाका विषयमा ठूलो सन्देश दिनेछ । चीन र रुसले बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा जारी गरेको संयुक्त वक्तव्य र युक्रेनमाथि रुसले गरेको सैन्य कारवाहीले बहुध्रुवीय विश्वको युगलाई उद्घोष गरेको छ ।