३० जेठ २०८३, शनिबार

जसपा बैठकः बहुपदीय अस्वीकार

फागुन २८, २०७८
जसपा बैठकः बहुपदीय अस्वीकार

सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) बहुपदीय व्यवस्थामा नजाने भएको छ । बहुपदीय एवं सामूहिक नेतृत्वमा जानुपर्ने माग उठे पनि हाललाई सो व्यवस्थामा नजाने निष्कर्षमा सो पार्टी पुगेको छ ।

बिहीबार र शुक्रबार काठमाडौंमा जसपाको कार्यकारिणी समितिको बैठक बस्यो । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सामूहिक एवं बहुपदीय प्रणालीमा जानुपर्ने गरेको प्रस्ताव अध्यक्ष उपेन्द्र यादव समूह ‘टालटुल’ गर्दै हाललाई यथास्थितिमै पार्टीलाई अगाडि बढाउने पक्षमा उभिएको छ ।

कार्यकारिणी समितिको बैठकमा डा. भट्टराई पक्षले सामूहिक एवं बहुपदीय व्यवस्थामा जानुपर्ने माग गरेका थिए । यसअघि समेत भट्टराई समूहले यो मुद्दा उठाउँदै आएको भए पनि पार्टीमा लागू नगर्ने पक्षमा यादव समूह उभिएपछि हालकै व्यवस्थाअनुसार पार्टी अगाडि बढ्ने भएको छ ।

‘बहुपदीय र सामूहिक नेतृत्वमा जानुपर्ने माग बैठकमा उठेको छ । तर, हाललाई सोअनुसार निर्णय हुन सकेन,’ बैठकमा सहभागी कार्यकारिणी समितिका एक सदस्यले भने, ‘बहुपदीय र सामूहिक नेतृत्वमा गए उपेन्द्रजीको मनोमानी चल्दैन, त्यही भएर बाबुरामजीले उठाउँदै आएको सो विषयमा केही पनि निर्णय हुन सकेन ।’

कार्यकारिणी समितिको बैठक शुक्रबार सम्पन्न गरेर जसपाले संघीय परिषद्को बैठक शनिबार राखेको छ । संघीय परिषद्को बैठक सम्पन्न गर्दै आइतबार र सोमबार काठमाडौंमै केन्द्रीय समितिको बैठक बस्नेछ ।

संघीय परिषद्को बैठकमा संघीय परिषद्का अध्यक्ष भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । सो प्रतिवेदनमा छलफलपश्चात् आइतबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष यादवले पेस गर्ने राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ ।

जसपामा संघीय परिषद्का अध्यक्ष भट्टराई, केन्द्रीय समितिको अध्यक्ष यादव र वरिष्ठ नेतामा अशोक राई छन् । उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायतका पद रिक्त छ । कार्यकारिणी समितिको बैठकले भट्टराई, यादव र राई रहेको तीन सदस्यीय ‘हाइकमान्ड’ कमिटी गठन गरेको छ ।

महत्वपूर्ण विषयमा केही निर्णय गर्नुपर्ने अवस्थामा यो कमिटीले निर्णय गर्न सक्ने अधिकार कार्यकारिणी समितिले दिएको छ । जसपा कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बहुपदीय प्रणालीमा जानुपर्ने विषयमा छलफल भए पनि निर्णय गर्न बाँकी रहेको बताए । सुभाष साहले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्