०३ असार २०८३, बुधबार

न्यूनतम मापदण्ड विनै एम्बुलेन्स सञ्चालन

फागुन २९, २०७८
न्यूनतम मापदण्ड विनै एम्बुलेन्स सञ्चालन

संघीय राजधानी काठमाडौंलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् ।

यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् । बिरामीलाई राख्नसमेत असहज हुने यस्ता सवारीमा बिरामी कुरुवा तथा स्वास्थ्यकर्मी राख्ने स्थान समेत पुग्दैन ।

यति मात्र होइन कतिपय सुविधा सम्पन्न अस्पतालले मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन गरे पनि बिरामीलाई चर्को मूल्य असुल्ने गरेको गुनासो आउने गरेको छ । कतिपय निजी अस्पतालले एम्बुलेन्स चालकलाई प्रभावमा पारेर सेटिङमा बिरामी ल्याउने र बिरामीबाट अनावश्यक रकम असुल्ने धन्दासमेत चलाउने गरेको पाइएको छ ।

मुलुकभर १ हजार ४६९ एम्बुलेन्स सञ्चालनमा छन् । ती एम्बुलेन्सलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ समेत जारी भएको छ तर अधिकांश एम्बुलेन्सले निर्देशिकामा तोकिएका न्यूनतम मापदण्डसमेत पूरा गरेका छैनन् ।

केही अस्पतालले सञ्चालन गर्ने एम्बुलेन्स सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन भए पनि अधिकांश भने सामान्य प्रक्रियासमेत पूरा नगरी सञ्चालनमा छन् । राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा एम्बुलेन्सका रूपमा प्रयोग हुने सवारीसाधन कम्तीमा एक हजार सीसीको हुनुपर्ने, फोरह्विल र सस्पेन्सन चेन सिस्टम अनिवार्य भएको हुनुपर्ने व्यवस्था छ ।

एम्बुलेन्स चालक २५ वर्ष उमेर पुगेको, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट एम्बुलेन्स चालकको तालिम लिएको, आपत्कालीन उद्धार तथा प्राथमिक स्वास्थ्य उपचारको समेत ज्ञान भएको हुनुपर्ने उल्लेख छ । आपत्कालीन सेवा अन्तर्गतको एम्बुलेन्स सेवा २४सै घन्टा सञ्चालनका लागि तयारी अवस्थामा राख्नुपर्ने, ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) र आकस्मिक चिकित्सकीय प्रविधि (ईएमटी) सेवा सहितको हुनुपर्छ ।

प्रत्येक एम्बुलेन्समा इमरजेन्सी मेडिकल डिस्प्याचर तालिमप्राप्त स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने उल्लेख छ । उद्धार गरिएका बिरामीलाई अस्पताल पुर्‍याउनुअघि नै स्वास्थ्य उपचारको सहजताका लागि समन्वय केन्द्रसमेत स्थापना गर्नुपर्ने व्यवस्था छ । एम्बुलेन्सको रंग, आपत्कालीन साइरन र बत्तीमा समेत एकरूपता हुनुपर्ने र सुविधाअनुसार मन्त्रालयद्वारा सूचीकरण गरिएको वर्गीकरण समेत स्पष्ट देखिने हुनुपर्ने उल्लेख छ ।

एम्बुलेन्स चालकको पछाडि बिरामी राख्ने भागमा कुनै सिट हुन नहुने, स्वास्थ्यकर्मी र कुरुवा बस्ने स्थान खुला रहनुपर्ने तथा सेवा शुल्कसमेत स्पष्ट देखिने गरी बिरामीसँगैको भित्री भागमा स्पष्ट देखिने गरी टाँस्नुपर्छ । यीमध्ये अधिकांश मापदण्ड अधिकांश एम्बुलेन्समा पूरा भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका स्वास्थ्य अधिकृत डा. नवराज जोशीले मापदण्ड पूरा नगरेका एम्बुलेन्सलाई पुनः सञ्चालनको अनुमति नदिइने बताए ।

एम्बुलेन्सको मापदण्ड अनुगमन स्वास्थ्य मन्त्रालयलगायत यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई तोकिएको छ । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव दासले बिरामी बोकेर ल्याएका एम्बुलेन्सको जाँच असहज हुने बताए । बिरामी नबोकेका कतिपय खाली एम्बुलेन्सले समेत आपत्कालीन बत्ती बाली साइरन बजाएर हुइँकिने गरेको र तीव्र गतिका कारण दुर्घटनामा समेत पर्ने गरेको उनले बताए ।

आपत्कालीन अवस्थामा उद्धार गरी समयमै अस्पताल पुर्‍याएर बिरामीको जीवन रक्षा गर्ने भनी सरकारबाट समेत राजस्व छुट पाएका कतिपय एम्बुलेन्स पैसा आर्जन गर्ने माध्यम बनेका छन् । कतिपय चालक लागूऔषध ओसारपसारमा समेत संलग्न भएको पाइएको छ ।

मन्त्रालयले यसअघि विभिन्न संस्था र स्थानीय तहले समेत मापदण्डबिना नै एम्बुलेन्स सञ्चालन गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न निर्देशिका जारी गरेको जनाएको छ ।

गत भदौ १७ गतेदेखि लागू भएको राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार अस्पताल र स्वास्थ्य चौकी तथा नेपाल रेडक्रसबाहेक अन्य संस्थाले एम्बुलेन्स सञ्चालन गर्न अनुमति पाउने छैनन् । विगतमा अनुमति पाएका कतिपय एम्बुलेन्स मापदण्ड विना नै सञ्चालन भए पनि तिनीहरूको नवीकरण रोक्का गरिने डा. जोशीले बताए ।

मन्त्रालयले प्रत्येक २ वर्षमा यस्ता सवारीसाधनको सञ्चालन अनुमति नवीकरण गर्ने गरेको छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्