१० साउन २०८३, आइतबार
निर्वाचन आयोगको स्पष्टोक्ति

यसकारण राखियो उम्मेदवारी मनोनयनका लागि २ दिनको समय

यसकारण राखियो उम्मेदवारी मनोनयनका लागि २ दिनको समय

वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि वैशाख ११ र १२ गते दुई दिन समय तोकेको छ । 

नेपालमा पहिलो पटक उम्मेदवारी मनोनयनका लागि दुई दिनको समय निर्धारण गरिएको हो । 

उम्मेदवारी मनोनयनको कार्यक्रम दुई दिन राखिएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । 

गठबन्धन दलभित्रको किचलो मिलाउन दुई दिन उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको भन्दै ओलीले आइतवार इलाममा गएर विमति जनाएका थिए । उनले विश्वका कुनै पनि मुलुकमा दुई दिन उम्मेदवारी मनोनयन गर्ने व्यवस्था नरहेको जिकिर गरेका थिए ।

निर्वाचन आयोगले भने २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयनमा भएको झन्झट सम्झेर यसपटक दुई दिन मनोनयनको कार्यक्रम राखिएको बताएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल एक दिनको समयले मात्र नभ्याउने भएकाले दुई दिनको समय राखिएको तर्क गर्छन् । 

'विगतको स्थानीय तह निर्वाचनमा एक दिन मात्र समय राख्दा उम्मेदवारहरूले रातिसम्म लाइन लाग्नु परेको थियो, कतिपयले आफ्नो उम्मेदवारी मनोनयनको फारम झ्यालबाट पनि फाल्नु परेको थियो,' अर्यालले लोकान्तरसँग भने, 'त्यसबाहेक निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीहरूले कागजपत्र मिलाउन रातभर काम गर्नुपरेको थियो ।'

धेरै पदमा धेरै उम्मेदवारहरूको मनोनयन पत्र आउने आकलन गरिएकाले एक दिनको मात्रै समयले नपुग्ने निष्कर्षसहित आयोगले दुई दिनको समय राखेको उनको भनाइ छ । 

'बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म समय राखेर एक दिनमा मात्र गर्ने विषयमा छलफल पनि भएको थियो,' अर्यालले लोकान्तरसँग भने, 'तर बिहानैदेखि उम्मेदवारहरू नआउन सक्ने, एकै पटक धेरै उम्मेदवार आउँदा भीडभाड हुने र निर्धारित समयभन्दा बढी अबेर रातिसम्म विगत जस्तै मनोनयनको काममा झन्झट हुन सक्ने आकलन गरेर दुई दिनको समय राखिएको हो ।'

उनका अनुसार ७९ वटा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत हुँदा धेरै उम्मेदवार एक दलबाट मात्र मनोनयन गराउने भएकाले सबै कुरा मिलाउन एक दिन अपुग हुन्छ । 

'काठमाडौं महानगरमा नै एउटा राजनीतिक दलले कुल १६२ वटा पदका लागि उम्मेदवारी मनोनयन गराउनु पर्ने हुन्छ,' उनले प्रश्न गरे, 'त्यसपछि स्वतन्त्र उम्मेदवारसमेत जोडेर गन्नुस् त कति जना उम्मेदवार हुन सक्छन् ?'

प्रमुख, उपप्रमुख, ३२ वटा वडामा ३२ जना वडाध्यक्ष र ४/४ जना प्रत्येक वडामा वडा सदस्यसहित १२८ जना वडा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराउनु पर्ने हुन्छ । त्यसै गरी उपमहानगर, नगर तथा गाउँपालिकामा समेत वडाको संख्याको आधारमा उम्मेदवारी मनोनयन दर्ता गराउनुपर्ने हुन्छ ।  

निर्वाचन आयोगमा ७९ वटा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा सहभागी हुने भनेर दिएको निवेदनको आधारमा दल पनि दर्ता भएको छ । त्यहीअनुसार आयोगले स्वीकृति पनि दिएको छ । 

त्यसैले धेरै पदमा धेरै उम्मेदवार हुने हुनाले एक दिनको समय नपुग्ने हुँदा उम्मेदवारी मनोनयनका लागि दुई दिनको समय राखिएको आयोगका सहप्रवक्ता अर्यालको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्