
नेकपा एमालेले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
चैत्र महिना भित्र घोषणा पत्रको मस्यौदा पेश गर्नेगरी पोखरेलको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन भएको प्रचार विभागमा उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
घोषणापत्र मस्यौदा कमिटीमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल, स्थायी किटी सदस्य प्रभु साह सदस्य छन् ।
यस्तै पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, राष्टिय योजना आयोगका पूर्व सदस्य दिनेशचन्द्र देवकोटा र पुनःनिर्माण प्राधिकरणका पूर्व सीईओ इन्जिनियर सुशील ज्ञवाली विज्ञको रुपमा सदस्य छन् ।
घोषणापत्रको अन्तिम मस्यौदा चैत्र मसान्तसम्म पेश गर्न समितिलाई जिम्मा दिइएको रिजालले जानकारी दिए ।
पार्टी स्थापना दिवसको अवसरमा वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने एमालेले बताएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवार मनोनयनको कार्यक्रम छ ।