
जागिर भनेपछि मरिहत्ते गर्ने समय अहिले पनि हाम्रो देशमा छँदैछ । अझ सरकारी जागिरका लागि मन्त्रीसम्मको फोन आउने गर्छ । जागिर नपाउनेहरू ‘नेपालमा भविष्य छैन’ भन्दै घरपरिवारको खर्च जुटाउन विभिन्न देशमा गएर पसिना बगाउने गर्छन् ।
मोरङको सुन्दरहरैचाका २ दाजुभाइ खाइरहेको जागिर नै छाडेर देशकै माटोमा पसिना बगाइरहेका छन् । रेवती र ईन्द्र तिमसिना खाइरहेको जागिर नै छाडेर कृषिमा लागेका छन् । रेवती सरकारी जागिरे थिए भने ईन्द्र विभिन्न संघसंस्थामा काम गर्थे ।
ईन्द्रले अधिकृतस्तरको जागिर गर्थे । रेवती तत्कालीन जिल्ला विकास समितिमा सामाजिक परिचालकको जागिर खान्थे । २०५५ देखि २०६८ सालसम्म उनले सामाजिक परिचालक भएर काम गरे ।
उनले मोरङको तत्कालीन बयरवन, जाते तथा मिर्गाैलिया गाविसमा सामाजिक परिचालक भएर काम गरे । कृषि तथा सामाजिक अभियानबाट पिछाडिएका परिवारको स्तर उकास्ने योजना बनाएर सरकारी जागिरमा उनी होमिएका थिए । १३ वर्ष काम गरेपछि मात्रै उनले सरकारी जागिरले पिछडिएको बनाएको निष्कर्ष निकाले ।
उनले जागिर शुरू गर्दाको तलब ४ हजार मात्रै थियो । जागिर खाँदै गर्दा २ घार मौरी पाल्न थालेका थिए । मौरीको गुलियो महले खाइरहेको सरकारी जागिरलाई तीतो बनाइदियो । तिनै २ घारबाट अहिले १०० बढी घार मौरी छन् ।
भाइ ईन्द्र तेह्रथुमको देउराली सोसाइटीमा जागिर खान्थे । सामाजिक परिचालकबाट जागिर शुरू गरेका उनी कार्यक्रम संयोजकसम्म बने । २०६४ देखि २०६९ सालसम्म उनले संस्थामा जागिर खाए । धेरै जनालाई बिउबिजन उपकरणदेखि तालिम दिएर उनले व्यावसायिक कृषक बनाए ।
अदुवा, अकबरे, सरोकार सहयोग कार्यक्रममार्फत अदुवा र अकबरे पकेट क्षेत्रको रूपमा विकास गरेको उनी बताउँछन् । ‘किसानको घरघरमा पुगेर सहयोग गरेर किसानले उत्पादन गरेका वस्तु आफैंले किनेर खाँदा केही समय आनन्द आयो,’ ईन्द्रले भने, ‘अरुलाई व्यावसायिक बनाए पनि आफू व्यावसायिक नबन्दा पीडाले सताउन थाल्यो ।’
खाइरहेको जागिर छाडेर उनी मोरङको सुन्दरहरैचामा बसाइ सरेर आए र एक गैरसरकारी संस्थामा नै जागिर खान थाले । नयाँ ठाउँमा एकैपटक कृषिमा होमिँदा फसिन्छ भन्न डरले जागिर नै खाएको उनले बताए । त्यहाँ पनि बाख्रा–बंगुर अनुदानमा वितरण गर्ने संस्थामा नै उनले काम गर्नुपर्थ्यो । जागिरसँगै उनले च्याउखेती गर्ने योजना बनाए ।
शुरूमै धक्का
रेवती मह उत्पादन गरेर बजारसम्म पुर्याउने गर्थे । ईन्द्र जागिर मात्रै खाइरहेका थिए । बजारमा च्याउको माग बढेकाले दाजुभाइले च्याउ खेती गर्ने योजना बनाए । ६ लाख रुपैयाँ ऋण खोजेर दाजुभाइ अरु १ विगाहा जमिन लिजमा लिएर च्याउखेती गर्न थाले ।
उन्नत जातको बिउ भनेर बजारबाट ल्याएर २२२ वटा पोका बनाएर दुवैले खेती गर्न थाले । उत्पादन नहुँदै मोरङका केही बजारमा भाउ बुझ्न पनि निस्के तर सबै मेहनत खेर गयो, च्याउ फलेन । पहिलोपटक गरेको खेती सबै ‘बालुवामा पानी’ हालेजस्तै भयो तर दाजुभाइले हरेस खाएनन् ।
च्याउ नफल्नुको कारण पत्ता लगाउन उनीहरू भारतका विभिन्न बजारसम्म पुगे, भारतमा गएर अगुवा कृषकलाई भेटेर समस्या सुनाए । बिउ र मौसम नमिल्दा त्यस्तो हुन्छ भनेर भारतका अगुवा कृषकले भनेपछि स्वदेश फर्केर पुरानै पेशा अँगाल्न थाले ।

अहिले उनीहरूको राम्रो उत्पादन भइरहेको छ । ईन्द्रले पनि जागिर छाडेर च्याउमा आफ्नो भविष्य खोजिरहेका छन् भने रेवतीले मौरीसँगै च्याउ, कागती र मेवा खेती गरिरहेका छन् ।
पहिला कामदार भएका उनीहरूले अहिले अरुलाई पनि रोजगारी दिने गरेका छन् । दैनिक ३ जना र काम बढी हुँदा ६ जनासम्म कामदार लाउने गरेको उनले बताए । ईन्द्रले १ जनालाई तलब दिएर राखेका छन् भने आवश्यकताअनुसार अरुलाई तलब दिएका छन् ।
स्थानीय कृषि उपजहरू काठमाडौंदेखि झापा, मोरङ र सुनसरीकै बजारमा खपत हुने गरेको छ । उनको साँझ–बिहानको दिनचर्या नै तरकारी खेतीमा बित्ने गरेको छ । तरकारी खेतीबाट खाइरहेको जागिरभन्दा धेरै राम्रो फाइदा हुने गरेको दाजुभाइ बताउँछन् ।
रेवती सामाजिक परिचालक हुँदा तत्कालीन जाते गाविस हाल लेटाङ नगरपालिकाका ९० जना किसालाई तरकारी खेती सम्बन्धी तालिम दिएका थिए, ५० जनाले एकैपटक व्यावसायिक रूपमा तरकारी खेती गरेको भन्दै जाते गाविसलाई मन्त्रालयले सम्मान समेत गरेको थियो ।

रेवतीलाई अगुवा कृषक तथा कृषिका मास्टर भनेर पनि चिन्ने गरिएको छ । लिजमा लिएर र आफ्नै गरी २ बिगाहाभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेका छन् उनी ।
हजुरबुवा जेटिए, नाति कृषि इन्जिनीयर
रेवती र ईन्द्रका बुवा बलराम जेटिए हुन् । बलराम पूर्व शिक्षक समेत हुन् । शिक्षण पेशा छाडेर उनले जेटीएको जागिर खाए । बुवाकै प्रेरणाले छोराहरूले जागिरलाई प्राथमिकता नदिई कृषिलाई अगाँले । बुवाको ज्ञानका कारण तरकारी तथा अन्य फलफूल खेतीलाई अगाडि बढाउन सहज भएको उनीहरू बताउँछन् तर जेटीएका २ नाति कृषि इन्जिनीयर छन् ।

रेवतीका दुवै छोरा कृषि इन्जिनीयर बनेका छन् । जेठा मोदनाथ कृषि विकास निर्देशनालय हेटौंडामा कृषि इन्जिनीयर छन् भने कान्छा बुद्धिनाथ उदयपुरको बेलका नगरपालिकामा कृषि इन्जिनीयर छन् ।