
विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङको सुन्दरहरैँचा-१ स्थित जनता माध्यमिक विद्यालयका ५८ वर्षीय शिक्षक शरवण खवासलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पढ्न नजानेको भन्दै गाली गर्ने बहानामा शुक्रवार विद्यार्थीको गोप्य अंगमा छोएको शिक्षकमाथि आरोप लागेको छ । विद्यार्थीहरूले शिक्षक खवासलाई कारवाही गर्न माग गर्दै विद्यालय प्रशासनमा निवेदन दिएका थिए ।
शनिवार बिहान अभिभावक र विद्यार्थी राखेर घटना मिलाउने प्रयास गरिएको थियो ।
छलफल गर्ने क्रममा केही दिनअघि लेटाङमा भएको घटना दोहोरिने डरले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारी प्रमुख सरोज खनालले जानकारी दिए ।
किटानी जाहेरि नपरेकाले थप नखुलेको उनको भनाइ छ । पीडित विद्यार्थी र अभिभावकलाई बोलाइएको उनले बताए ।
लेटाङमा गत आइतवार एक विधार्थीमाथि भएको यौन दुर्व्यवहारविरुद्धको प्रर्दशनका क्रममा भएको झडपमा एक प्रहरीको मृत्यु भएको थियो ।