
काभ्रेमा मागभन्दा दोब्बरभन्दा बढी म्यादी प्रहरीका लागि आवेदन परेको छ । जिल्लामा एक हजार ४९५ जना म्यादी प्रहरी माग गरिएकोमा दोब्बरभन्दा बढीले आवेदन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरि खतिवडाले ८३४ महिलासहित तीन हजार १७३ जनाले म्यादी प्रहरी लागि आवेदन दिएको जानकारी दिए।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सरकारले म्यादी प्रहरीको लागि आवेदन मागेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले म्यादी प्रहरीमा युवाको आकर्षण देखिएको बताए ।
उनका अनुसार स्नातक गरेकाले समेत म्यादी प्रहरी लागि आवेदन दिन आएका छन् । बेरोजगार बस्नुभन्दा थोरै समयका लागि भए पनि रोजगारी पाइने भएकाले म्यादी प्रहरीमा आएको आवेदन दिएकाहरूले बताएका छन् ।
चैत ६ देखि ११ गतेसम्म म्यादी प्रहरीका लागि आवेदन माग गरिएको थियो । म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ गतेबाट सुरु हुने र चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुने जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।