०३ असार २०८३, बुधबार

सबैभन्दा बढी मोरङमा, मनाङमा कम मतदाता

चैत १४, २०७८
सबैभन्दा बढी मोरङमा, मनाङमा कम  मतदाता

निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताको अन्तिम सूची सार्वजनिक गरेको छ ।

निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता सहभागी हुन पाउनेछन् । आयोगले मतदाता नामावलीमा नाम दर्ता भएकाको अन्तिम जाँचबुझ गरी आइतबार अन्तिम नामावली सार्वजनिक गरेको हो ।

जसअनुसार ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ अन्य मतदाता कायम भएका छन् । आयोगले सार्वजनिक गरेको नामावलीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना कायम भएका छन् ।

सबैभन्दा बढी मोरङमा, कम मनाङमा

मोरङपछि झापामा ६ लाख ४६ हजार २ सय ३४ जना तथा काठमाडौंमा ६ लाख ३७ हजार ७ सय ७५ जना मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै, सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता कायम भएका छन् । त्यसपछि मुस्ताङमा १० हजार ४ सय ८५ जना तथा डोल्पामा २२ हजार ४ सय ४० जना कायम भएको आयोगले भनेको छ ।

आयोगले मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको अन्तिम सूची सार्वजनिक गरेको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए । अब अन्तिम नामावली प्रकाशन भइसकेपछि नामावली हेरफेर, थपघट वा सच्याउन पाइने छैन ।

यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भने कुल मतदाता संख्या १ करोड ४० लाख ७४ हजार ४ सय २४ थियो । यसपटक भने २०७४ मा भन्दा ३६ लाख ५९ हजार २ सय ९९ बढेर १ करोड ७७ लाख पुगेको हो । २०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या १ करोड ५४ लाख थियो ।

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधारमा भने अहिले २३ लाख मतदाता बढेका हुन् । आयोगले स्थानीय तहतर्फ भने सबैभन्दा बढी मतदाता काठमाडौं महानगरपालिकामा कायम भएको जनाएको छ । काठमाडौं महानगरमा ३ लाख २ सय ४२ मतदाता कायम भएका हुन् । यस्तै, काठमाडौंपछि स्थानीय तहतर्फ दोस्रो धेरै मतदाता पोखरा महानगरपालिकामा कायम भएका छन् ।

पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता कायम भएका हुन् । यसैगरी, तेस्रोमा भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ जना मतदाता कायम भएका छन् । आयोगका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकामा सबैभन्दा कम ४ सय ४८ जना मात्र मतदाता कायम भएका छन् । मनाङकै चामे गाउँपालिकामा ७ सय ११ र डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा ९ सय ६७ मतदाता रहेको आयोगले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्