
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरूले माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउने रणनीति बनाएको र त्यसलाई चुनावी लडाईंबाट जसरी पनि जित्नुपर्ने बताएका छन् ।
‘प्रतिक्रियावादीहरू माओवादीलाई घेरा हालेर हराउने, सिध्याउने षड्यन्त्र बनाइरहेका छन् । हामी त्यो लडाईं जित्न चाहन्छौं । तपाईंहरूकै बलमा हामीले सिंहदरबारमा लडाईं लड्ने हो,’ रोल्पामा आयोजित जनसभालाई सोमवार सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले पनि शान्तिपूर्ण लडाईं जारी छ । प्रतिक्रियावादीहरू संविधान उल्ट्याउने प्रयास गरिरहेका छन्, हामी त्यसविरुद्ध लडाईं गरिरहेका छौं ।’
स्थानीय तहको निर्वाचन अरूको लागि चुनाव भएको तर माओवादीका लागि लडाईं भएको प्रचण्डले बताए । ‘अरूका लागि चुनाव हो तर हाम्रो लागि लडाईं हो । हामीले हार्यौँ भने शहीदका सपनाले हार्छ,’ प्रचण्डले भने ।
चुनाव जित्नका लागि गाउँगाउँमा युवाको स्वयंसेवक दस्ता बनाउनुपर्ने र इँटाको जवाफ पत्थरले दिने गरी तयारी गर्नुपर्ने उनले बताए । उनले भने, ‘रोल्पाले जित्यो भने सबैले जित्छौं ।’
एमाले र माओवादी केन्द्रको एकीकरण स्मरण गर्दै प्रचण्डले भने, ‘४०–५० वर्ष कम्युनिष्टको शासन होला भन्ने ठानेर पार्टी एकता गरेका थियौं । जसलाई नायक बनाउन सकिन्छ कि भन्ने ठानिएको थियो ती खलनायक निस्किए, दलाल निस्किए ।’