१० साउन २०८३, आइतबार

सीमित ठेकेदारलाई लक्षित गरी आह्वान गरिएको लुम्बिनी अस्पतालको टेन्डर रद्द

चैत १४, २०७८
सीमित ठेकेदारलाई लक्षित गरी आह्वान गरिएको लुम्बिनी अस्पतालको टेन्डर रद्द

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गर्न गरिएको टेन्डर आह्वान रद्द भएको छ । ५ अर्ब रूपैयाँमा बन्न लागेको सुविधासम्पन्न अस्पताल भवनको टेन्डर रद्द भएको हो । 

प्रदेश पूर्वाधार विकास प्राधिकरण दाङका इन्जिनियर गिरीराज पौडेलले सार्वजनिक खरिद ऐनको दफा २६ अनुसार टेन्डर रद्द गर्नुपर्ने अवस्था आएको लोकान्तरलाई जानकारी दिए । ‘अरू कुरा पछि गरौँला अहिले तपाईं टेन्डर रद्द भएको मात्र बुझ्नुहोस्,’ इन्जिनियर पौडेलले भने । 

प्रदेश गौरवको आयोजनाअन्तर्गत बन्न लागेको अस्पतालको सुविधासम्पन्न भवनका लागि सीमित कम्पनीले मात्र सहभागी हुन पाउने गरी टेन्डर गरिएपछि आर्थिक अनियमितताको आशंका गरिएको थियो । 

लोकान्तरले चैत ९ गते ‘५ अर्बको अस्पताल भवन ठेक्कामा अनियमितताको गन्ध, सीमित ठेकेदारलाई लक्षित गरी टेन्डर !’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो । 

प्रदेश पूर्वाधार विकास प्राधिकरण दाङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले रसुवा कन्सट्रक्सन र शर्मा एण्ड कम्पनीलाई ठेक्का दिलाउने गरी टेन्डर आह्वान गरेको निर्माण व्यवसायीहरूले आरोप लगाएका थिए । 

गत फागुन ८ गते पूर्वाधार प्राधिकरणले टेन्डर आह्वान गरेको थियो । प्रदेश सरकारले बनाएको गुरुयोजना अनुसार एक हजार २०० शय्याको १० तले अस्पताल भवनको माथि हेलिप्याडसमेत रहनेछ । हेलिप्याडबाट सीधै इमर्जेन्सीमा झर्ने लिफ्टसमेत बन्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्