
नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) माथि सोमवार १५ रनको रोमाञ्चक जीत निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपालले दिएको १०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्र जोड्दा नेपालले १५ रनको जीत निकालेको हो ।
जवाफी ब्याटिङ गरेको पीएनजीका लागि नोर्मान भानुआले सर्वाधिक ५२ रन बनाए पनि जीत दिलाउन सकेनन् । सेसे बाउले ३०, चार्ल्स एमिनीले २२, लेगा सिएकाले २१ र नोर्मान भानुआले १९ रन बनाए ।
पीएनजीविरुद्ध किफायती बलिङ गरेका सन्दीप र करण केसीले समान ३ विकेट लिए । सन्दीपले ४ ओभर बलिङमा २२ रन खर्चिंदा करणले ४४ रन खर्चिएका थिए । यसबाहेक अविनाश बोहराले २ र सोमपाल कामीले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८३ रनको योगफल तयार गरेको थियो । नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन बनाएका थिए । ३५ बलमा आशिफले ५ चौका र १ छक्का प्रहार गरेका थिए ।
नेपालका अर्का ओपनर कुशल भुर्तेल ११ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएर आउट भएका थिए । करण केसीले २ छक्कासहित १४ रन जोड्दा आरिफ शेखले २२ बलमा १ चौका र २ छक्कासहित ३१ रन र कुशल मल्लले ६ बलमा १ चौका र १ छक्कासहित ११ रन बनाएका थिए ।
यसबाहेक लोकेश बमले ५, दीपेन्द्रसिंह ऐरीले ४ र सोमपाल कामीले १ रन जोड्दा कप्तान सन्दीप लामिछाने १ र अविनास बोहरा शून्य रनमा अविजित रहे । पीएनजीका अलेइ नाओ, चाड सोपर र चाल्र्स एमिनीले समान २ विकेट लिँदा नोर्मान भानुआ र रिले हाकुरेले १–१ विकेट हात पारे ।
यसअघिको २ एक दिवसीय शृंखलामा नेपाल पीएनजीसँग २–० ले पराजित भएको थियो ।
अब नेपालले दोस्रो खेलमा बुधवार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ । सिरिज अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध २–२ खेल खेल्नेछ । नेपालले पहिलो खेलमा २ अंक जोडेको छ ।