०८ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

देउवा भाजपाको कार्यालय धाउँदा आलोचना, दिल्लीबाट जनकपुरको रेल उद्घाटन

देउवा भाजपाको कार्यालय धाउँदा आलोचना, दिल्लीबाट जनकपुरको रेल उद्घाटन

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुति लिएर आएका छौँ–

शुक्रबारदेखि भारतको भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो पदीय मर्यादा भुल्दै दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को कार्यालय पुगेका छन् । उनी भाजपा अध्यक्ष भेट्न पार्टी कार्यालयसम्म पुगेको विषयलाई लिएर आलोचना भएको छ । एमालेसहित विभिन्न दलका नेता र सामाजिक सञ्जालमा देउवाले आफ्नो पदीय मर्यादा भुलेको भनेर आलोचना भइरहेको छ । दिल्ली ओर्लिएसँगै उनी विदेशमन्त्री एस जयशंकरलाई भेटेपछि भाजपा कार्यालयमा पुगेका थिए । 

एमाले नेता भीम रावलले देउवा भाजपा कार्यालयमा गएको प्रति कडा प्रश्न गरेका छन् । उनले देउवा भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गएको हो भन्दै प्रश्न गरेका छन् । 
सामाजिक सञ्जलामार्फत रावलले नेका छन्, ‘शेरबहादुर देउवाको भारत भ्रमण प्रमको हैसियतले हो कि, नेकां सभापतिको ? भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो ? श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसँग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो। भ्रमण पारिवारिक  हो र ?यस्तै कामले नेपाल हेपिन्छ।’
००००
भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि छिमेक सम्बन्ध अझ बलियो बनाउनेमा विश्वस्त रहेको जनाएका छन् । भेटपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै विदेशमन्त्री जयशंकरले खुशी व्यक्त गरेका छन् ।
उनले नेपाली भाषामै ट्विट गर्दै लेखेका छन्, ‘भारतको औपचारिक भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुशी लागेको छ । यो भ्रमणले हामीबीचको निकट छिमेक सम्बन्धलाई अझ बलियो बनाउने कुरामा विश्वस्त छु ।’
००००
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रूपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार नयाँदिल्लीबाट संयुक्त रूपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गर्ने कार्यक्रम छ । 

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाखमा २ सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो ।

पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको छ । यो रेल सेवा शुरू भएसँगै नेपालको रेल यातायात तर्फको अर्को यात्रा शुरू हुनेछ । 

शनिवार रेल गाडीमा दुवै देशका प्रतिनिधि सवार भएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ जाने रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।
००००
प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकार लागिपरेको बताएका छन् । भारत भ्रमणमा रहेका देउवाले दिल्लीस्थित नेपाली दूतावासमा शुक्रबार राति आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एकै चरणमा स्थानीय तहको सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 
उनले आगामी आर्थिक वर्षमै संघीय र प्रदेश निर्वाचन पनि गर्नुपर्ने अवस्था रहेको बताए । 

उनले नेपाल भारतबीचको सम्बन्ध जनस्तरबाटै बलियो रहेको उल्लेख गर्दै  दुई देशको सम्बन्धमा निरन्तर बलियो र विश्वसनीय रहिरहने बताए । कोरोना महामारीका बेला भारतमा रहेका नेपालीहरुलाई अनेकन कठिनाइ परेको स्मरण गर्दै देउवाले यस्तो अवस्थामा पनि नेपाल र नेपालीका लागि सहयोग गरेको प्रति देउवाले प्रवासमा रहेका नेपालीलाई धन्यवाद दिए ।
००००
पछिल्लो २४ घण्टामा २२ जनामा संक्रमण पुष्टि भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ८३५ नमूना परीक्षणमध्ये २२ जनामा संक्रमण देखिएको हो । 
पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार थप ७५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर एक हजार २२ सक्रिय संक्रमित छन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले चाहँदासम्म मात्र वर्तमान सत्ता गठबन्धन कायम रहने बताएका छन् ।
गठबन्धन तोड्नका लागि चार वटा चक्का खोल्न र इन्जिन बन्द गर्नुपर्ने आवश्यकता नभएको उनले टिप्पणी गरे । 
अनेरास्ववियूले शुक्रवार राजधानीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले एमालेले तोड्न नचाहेका कारण मात्र गठबन्धन कायम रहेको बताएका हुन् ।
००००
भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार १ रूपैयाँ ४८ पैसा घटेर आएको हो ।

निरन्तर बढिरहेको पेट्रोलको मूल्य यसपालि भने घटेर आएको हो । पेट्रोल अहिले १५५ रूपैयाँमा बिक्री भइरहेको छ । खरिद लागत भने १८२ रुपैयाँ ७ पैसा रहेको निगमको भनाइ छ । निगमका अनुसार डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यास भने बढेर आएको छ ।
००००
राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वनकलाले भरिपूर्ण रोचक कार्यक्रमहरू आयोजना गरी घोडेजात्रा समारोह २०७८ सम्पन्न भएको छ ।  सेनाले घोडेजात्राको अवसरमा सैनिक मञ्चमा विशेष कार्यक्रम गर्दै आएको छ । 
००००
नेपाल वायुसेवा निगमको जहाज थाइल्याण्डमा उड्नै लाग्दा दुईवटा टायर एकैपटक पञ्चर भएको छ । यो जहाज ठूलो दुर्घटना हुनबाट बचेको उक्त जहाजबाट काठमाडौं आउँदै गएका एक यात्रुले बताएका छन् ।
थाइल्याण्डको राजधानी बैंककबाट शुक्रबार साँझ काठमाडौं आउने तयारी भएको आरए ४०२ उडान नम्बरको उक्त जहाज उड्नलाई धावनमार्गमा गुड्ने क्रममा दुईवटा टायर पड्किएको हो ।
००००
युएईमा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दै शुक्रबार काठमाडौँमा प्रदर्शन गरिएको छ । 

नेपालका लागि पर्यटन भिसामा भइरहेको विकृतिबारे दूतावासलाई लक्ष्य गरी गत पुस २४ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेकै कारण नेपाली दूतावासको उजुरीका आधारमा स्थानीय प्रहरीले पक्राउ गरेको विरोधमा पत्रकारहरूले प्रदर्शन गरेका हुन् ।
००००
कमिशन र ढुवानी भाडा बढाउन माग गर्दै ढुवानी व्यवसायीले शुक्रवारबाट पेट्रोलियम पदार्थको आपूर्ति रोकेका छन् । 
पेट्रोलियम पदार्थको ढुवानी रोक्ने र डिलरहरूले पनि आयल निगमबाट पेट्रोलियम पदार्थ नउठाउने भएपछि महँगो तिर्दा पनि उपभोक्ताले इन्धन नपाउने अवस्था सिर्जना हुने भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेर आइरहेको र आयल निगमलाई घाटा बढेर आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई हम्मेहम्मे परिरहेको छ । 
यही समयमा पेट्रोलियम डिलर्स तथा ढुवानी व्यवसायीले आफूअनुकूलको लाभ मात्रै खोज्दा महँगो मूल्यमा पनि उपभोक्ताले इन्धन खरिद गर्न नपाउने अवस्था सिर्जना भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्