
चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित ‘एमबीबीएस इन्ट्रान्स’मा सहभागी ४ नक्कली परीक्षार्थीसहित ५ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
यही चैत १८ गते सञ्चालन भएको ‘मेडिकल एजुकेसन कमन इन्ट्रान्स’मा अर्कैको नाममा परीक्षा दिन पुगेका ४ जना र परीक्षा दिन लगाउने १ जना गरी ५ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
काठमाडौंको सीसीआरसी कलेज, एम्बिसन कलेज र ग्रामर स्कूल परीक्षा केन्द्रबाट शुक्रवार पक्राउ गरिएका उनीहरूलाई आइतवार सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा महोत्तरीको साविक सम्सी – ४ घर भएका २२ वर्षीय अमर पण्डित, चक्रघट्टा–४ सर्लाही घर भएका २२ वर्षीय अनिकेत चौधरी, राजगढ–१ सप्तरी घर भएका २६ वर्षीय राम आशिष यादव, भारतको बिहार घर भएका २४ वर्षीय इस्तियाक अहमद र सम्सी ( ५ महोत्तरी घर भएका २३ वर्षीय सन्नीकुमार साह छन् ।
कसरी परे पक्राउ ?
चिकित्सा सेवा आयोगको मेडिकल एजुकेसन कमन इन्ट्रान्स परीक्षा (एमईसीईई) चैत १८, २० र २१ गते हुँदैछ र त्यहाँ नक्कली विद्यार्थी पनि छन् भन्ने सूचना अपराध महाशाखालाई आएको थियो । दुई तीनजनाको त नामै उल्लेख गरेर सूचना प्राप्त भएको थियो ।
प्रहरीले शुक्रवार परीक्षा शुरू भएपछि उपत्यकाको एम्बिसन कलेजमा परेको सेन्टरमा विद्यार्थी रहेका सन्नीकुमार साहको नाममा परीक्षा दिने इस्तियाक अहमदसँग सोधपुछ गर्यो । उनले आफू सन्नी भएको दाबी गरिरहे । उनले सन्नीकै नागरिकता र प्रवेश पत्र बोकेका थिए ।
प्रहरीले उनलाई परीक्षा दिन लगायो । त्यो बीचमा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नागरिकता भिडायो, तर अहमदले बोकेको नागरिकता र प्रशासनको नागरिकता मिल्यो ।
प्रहरीलाई चुनौती थपियो, को हुन् सन्नी ? प्रहरीले मोबाइल नम्बर लगायतका सुराकहरू फेला परेको थियो । मोइबाइलको सीडीआर हेर्दा उनी महोत्तरीबाट भक्तपुर आएको र त्यहाँबाट गौशाला क्षेत्रमा रहेको देखियो ।
प्रहरीले उनलाई गौशाला क्षेत्रबाट पक्राउ गर्यो । सक्कली सन्नीलाई नै उपस्थित गराएपछि अहमदलाई परीक्षाकै लागि भारतबाट बोलाएको पोल खुल्यो । त्यसपछि सुराकअनुसार अन्य ३ जनालाई पनि परीक्षा लगत्तै फरक–फरक परीक्षा केन्द्रबाट पक्राउ गरियो ।
किस्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा पढ्ने अमर पण्डित र अनिकेत चौधरीलाई सीसीआरसी कलेजबाट र तेस्रो वर्षमा पढ्ने राम आशिष यादावलाई ग्रामर स्कूलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एमबीबीएसमा नाम निकालेको ५ लाखदेखि १८ लाखसम्म
एमबीबीएसमा नाम निकालेको १८ लाख रुपैयाँसम्म लिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
परीक्षा दिएर सामान्य पासका लागि ५ लाख, पेइङ अर्थात आधा स्कलरशीमा नाम निकालिदिएको आपसी सहमतिमा ५ देखि १० लाख र पूर्ण स्कलरशीपमा नाम निकालिदिएको १८ लाख रुपैयाँ लिने गरेको देखिएको अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले बताए ।
‘परीक्षा दिनका कन्भिन्स गरेर परीक्षाअगावै ५० हजार, परीक्षाको दिन २ लाख सम्म दिने गरेको पाइएको छ,’ एसएसपी कुवँरले भने ।
त्यसपछि पास भएर नाम निकालिदिएको आधारमा पैसा लेनदेन हुने गरेको खुलेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उनीहरूले पटक–पटक परीक्षा दिएको खुलेको तर कति जनालाई पास गराए भन्ने खुलेको छैन ।
सन्नीकुमार साहले सामान्यमा नाम निकालिदिएबापत आफूले ४ लाख दिन लागेको प्रहरीलाई बताएका छन् ।
अर्कैलाई परीक्षा दिन लगाउने अन्य ३ जना फरार छन् ।
अनलाइन फर्म भर्दादेखि नै सेटिङ
बिचौलियाहरूले चिकित्सा शिक्षा आयोगको परीक्षाको अनलाइन फर्म भर्दादेखि नै सेटिङ गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।
महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार उनीहरूले परीक्षा दिने विद्यार्थी र नक्कली परीक्षार्थीको फोटो मिक्सअप गरेर फर्म भर्ने गरेको खुलेको छ । त्यो लिएर उनीहरू परीक्षामा बस्ने गरेका थिए ।
बिचौलियाले उपत्यकालगायत देशभरमा मेडिकल पढ्दै गरेका आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीलाई निशानामा राखेको देखिएको एसएसपी कुवँरले बताए ।
भारतमा आइएस्सी पढेका अहमद एमबीबीएसका नक्कली परीक्षार्थी
भारतमा कक्षा १२ मा अर्थात आइएस्सी गरेका ईस्तियाख अहमद नेपालमा एमबीबीएसको नक्कली परीक्षार्थी बनेको खुलेको छ ।
उनले प्रहरीलाई प्रारम्भिक बयानमा आर्थिक प्रलोभनमा परेर नेपालमा परीक्षा दिन आएको बताएका छन् । तर प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले पटक–पटक परीक्षा दिएको देखिएको छ ।
आज (आइतवार) राम आशिष यादव दोस्रो विद्यार्थीको पनि परीक्षा दिने योजनामा रहेका खुलेको छ ।