२४ जेठ २०८३, आइतबार

बेदकोटका नगर प्रमुख चन्द एकीकृत समाजवादीमा प्रवेश

बेदकोटका नगर प्रमुख चन्द एकीकृत समाजवादीमा प्रवेश

कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्दसहित २६ जना निर्वाचित जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

पार्टीको नगरस्तरीय आमसभामा आइतवार समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नगर प्रमुख चन्दसहित ५ जना वडाध्यक्ष र वडा सदस्यलाई पार्टी प्रवेश गराएका छन् ।

समाजवादी प्रवेश गर्ने चन्दसहित सबै जनप्रतिनिधि विक्रम संवत् २०७४ सालमा स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् ।

सो अवसरमा नगर प्रमुख चन्दले पार्टीमा अपमानित र षड्यन्त्रहरू हुन थालेपछि बाध्य भएर पार्टी परिवर्तन गर्नुपरेको बताए । उनले १० बुँदे पक्षधर तथा पूर्व माओवादीबाट एमालेमा रहेकालाई जिल्लामा विभेद गर्नुका साथै जिम्मेवारीबाट वञ्चित गराएको बताए ।

गत पुसमा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनमा सचिव पदमा झिनो मत अन्तरले पराजित भएका चन्दले आफू निकट नेता तथा कार्यकर्ता जिल्ला नेतृत्वको पेलानमा परेको दाबी गरे ।

विक्रम संवत् २०५६ सालमा तत्कालीन दैजी गाविसमा गाउँ कमिटी सदस्यबाट एमालेको राजनीतिमा लागेका चन्दले २२ वर्ष पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरेको अनुभव सुनाए । एमाले र माओवादी एकीकरणपछि उनी पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहेका थिए ।

नगर प्रमुख चन्दसँगै एमालेका जिल्ला कमिटी सदस्य एवं बेदकोट नगरपालिकाका युवा नेता रामचन्द्र रेग्मीलगायत सयौं नेता तथा कार्यकर्ताहरू समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी बेदकोट नगर कमिटीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्