
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन् ।
सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उनले आचारसंहिताको पालना गर्न पत्रकार स्वयं जिम्मेवार हुनुपर्ने बताए ।
अध्यक्ष बस्नेतले विना आधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरे ।
‘हामी समाजको प्रतिनिधि हो, जहिले पनि परीक्षणमा हुन्छौं,’ उनले भने, ‘हाम्रा क्रियाकलाप समाजले नियालिरहेको हुन्छ, त्यसैले आचारसंहिताको डोरीभित्र रहेर काम गर्नुपर्छ ।’
प्रेस काउन्सिल नेपालले देशव्यापीरूपमा आचारसंहिता जागरण अभियान शुरू गरेको अध्यक्ष बस्नेतले बताए । पत्रकार आचारसंहिता पालनाका लागि पत्रकार महासंघको पनि उत्तिकै भूमिका रहेको उनको भनाइ थियो ।
प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकारले बुम देखाउँदा भाग्नुपर्ने अवस्था आएको भन्दै जिम्मेवार र मर्यादित पत्रकारिताको खाँचो औंल्याए । उनले प्रेस काउन्सिल नेपालले दूत भएर सरकार र पत्रकारबीच पुलको काम गरिरहेको बताए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले आचारसंहिता उल्लंघन गर्दा पत्रकारिताको विश्वसनियतामाथि प्रश्न उठेको बताए । काउन्सिलले पत्रकार आचारसंहिता सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दा जिल्लास्तरमा आचारसंहिता सिकाउने प्रशिक्षक उत्पादन हुने उनको विश्वास छ ।
पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका २५ जना सहभागी छन् ।