
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेभित्र पनि ८० प्रतिशत कार्यकर्ता क्रान्तिकारी रहे पनि गलत नेतृत्वको बन्दी बनेका आरोप लगाएका छन् ।
इमान्दार कार्यकर्ताले ‘साँच्चिकै नेता भेटियो’ भनेर आफूलाई नेता मानेको उनको दाबी छ ।
माओवादी ध्रुवीकरण कार्यक्रमलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एमाले भित्रको इमान्दार कार्यकर्ता प्रतिगमनकारी नेतृत्वको बन्दी बनेका आरोप लगाएका हुन् ।
‘एमालेभित्र पनि ८० प्रतिशत इमान्दार कार्यकर्ता छन्, उनीहरू साँच्चै क्रान्ति होस् भनेर चाहिरहेका छन् तर नेतृत्वले बन्दी बनाएर राखेको छ । प्रतिगमनकारी नेतृत्वको बन्दी बनेका छन्,’ प्रचण्डले भने, ‘माओवादी जनयुद्धलाई देख्नै नसक्नेसँग प्रतिगमनकारीसँग वैचारिक बहस भयो तर क्रान्तिकारीहरूले वास्तविक नेता भेटियो भनेको भावना पनि हेरे, पूर्व पश्चिम तराई हेरे,’ उनले भने ।
प्रचण्डले एमालेसँग तालमेल र पार्टी एकता गल्ती नभएको दोहोर्याए । ‘प्रचण्डले पार्टी कब्जा गर्न खोजेका थिए भनेर एमालेका कतिपय नेताहरूले भनेको सुन्नुहुन्छ नि, त्यसभित्र गहिरो कुरा लुकेको छ,’ उनले भने ।