०९ असार २०८३, मंगलबार
प्रविधिको माध्यमबाट ठगी

अनलाइन ठगको जालो– विदेश लैजाने बहानामा ठग्नेदेखि जागिरको प्रलोभन दिनेसम्म

बैशाख १, २०७९
अनलाइन ठगको जालो– विदेश लैजाने बहानामा ठग्नेदेखि जागिरको प्रलोभन दिनेसम्म

ललितपुरको बागमती गाउँपालिका– ६ की राधा (नाम परिर्वतन) ललितपुर महानरपालिकाको धापाखेल बस्दै आएकी थिइन् ।

काठमाडौं उपत्यकामा बसेर पढाइ अगाडि बढाइरहेकी राधा उच्च शिक्षाका लागि जापान जाने योजनामा थिइन् । 

उपत्यकामा सामान्य रोजगारी गरिरहेकी उनलाई एक दिन ‘तानाकायोका’ नामको फेसबूक आईडीबाट ‘फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल खोलेर हेर्दा जापानी नागरिकजस्तो देखिने भएकाले सहजै स्वीकार गरिन् । त्यसको केही महिना फेसबूक म्यासेन्जरमा कुराकानी भयो । त्यसक्रममा ती व्यक्तिले नेपालीलाई जापान लैजाने गरेको बताए ।

उनले त्यो कुरा आफ्ना अन्य ४ जना साथीहरूलाई पनि बताइन् । उनीहरू पनि जापान जाने योजना थिए । ती व्यक्तिले भिसाको प्रक्रियाका लागि भन्दै पैसा मागे ।

उनीहरूले अम्बिका थापाको नाममा रहेको माछापुच्छ्रे बैंकको खाता र शुभद्रा परियारको नाममा रहेको नेपाल बैंकको खातामा खातामा पैसा हालिदिए ।

राधाले १४ लाख ८० हजार १२८ रुपैयाँ पठाइन् । पहिलो साथीले ५ लाख ६३ हजार २०३, दोस्रो साथीले ८ लाख ५३ हजार ४२०, तेस्रो साथीले ८ लाख ९२ हजार ३८५ र चौथो साथीले १ लाख ७९ हजार ८६० गरी ३९ लाख ६८ हजार ९९६ रुपैयाँ अम्बिका थापाको खातामा पठाए ।

पैसा पठाइसकेपछि उनीहरू आफ्नो भिसा आउने आशामा बसिरहेका थिए । उनीहरूले ती व्यक्तिलाई समय–समयमा सम्पर्क गरिरहेका थिए । तर एकदिन ‘पूजा राई, सरन राई, दीपिका केसी, सुमित्रा केसी र राजेन्द्र ढकालसँग पैसा छ, उनीहरूले लगेका हुन्, उतै माग्नु’ भन्दै ती व्यक्ति सम्पर्कविहीन भए ।

बल्ल आफूहरू ठगिएको थाहा पाएका उनीहरू महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिन पुगे । त्यसपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएर खोजी शुरू गर्‍यो ।

प्रहरीले खोजिरहेको भन्ने थाहा पाएर मकवानपुरको हेटौंडा उपमहानरपालिका– १२ पदमपोखरीकी शुभद्रा परियार, इलाम सूर्योदय नगरपालिका– ४ की पूजा राई र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ का राजेन्द्र ढकाल महाशाखामा आफैँ उपस्थित हुन आए ।

प्रहरीले भक्तपुर चाँगुनारायण– ७ खरीपाटीबाट दीपिका केसीलाई पक्राउ गरेको थियो । 

उनीहरूमाथि अनुसन्धान सकेर महानगरीय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । मुद्दा विचाराधीन छ ।

यो त प्रतिनिधिमूलक घटना मात्र हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा अनलाइन ठगीका दैनिक ७ वटासम्म उजुरी आउने गरेका छन् ।

कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार अघिल्लो आर्थिक वर्षमा अनलाइन ठगीका कुल २८८ उजुरी दर्ता भएका थिए ।

यो वर्ष त्यो संख्या निकै बढेको छ । चैत महिनासम्ममा नै ४ सयभन्दा बढी उजुरी परिसकेको उनले बताए ।

‘४/५ प्रकारका ठगीका केसहरू आउने गरेका छन् । अनलाइनबाट सामान किन्नेदेखि चिठ्ठा पर्‍यो भन्ने प्रलोभनमा ठगिएका उजुरी आउने गरेका छन्,’ एसपी कोइरालाले लोकान्तरसँग भने ।

उनका अनुसार सामाजिक सञ्जालमार्फत जागिरको प्रलोभन दिने र उनीहरूबाट तालिम लगायतका बहानामा ठग्नेक्रम पनि बढेको छ । 

अनलाइनबाट चिनजान गरेर क्यानडा, जापान लगायतका देशमा पठाइदिन्छु भन्दै मोटो रकम लिएर फरार हुने गरेको पनि देखिएको छ । कतिपय उजुरी सामाजिक सञ्जाल ह्याक गरेर आफन्तसँग पैसा मागेको भन्ने व्यहोराको रहेको एसपी कोइरालाले बताए ।

अपराध अनुसन्धान कार्यालयमा १५ सय ठगिएकोदेखि १ करोड ८० लाख ठगिएकोसम्मका उजुरी आएका छन् । पछिल्लो समय अनलाइनबाट सामान किन्दा ठगिएको भन्ने उजुरी बढी आएका छन् ।

‘अनलाइनबाट महंगो मोबाइल, घडी, ल्यापटप सस्तोमा पाइने लोभमा ठगिनेको संख्या धेरै छ । प्रहरी त्यस्ता सामाजिक सञ्जाल र व्यक्तिहरूबाट जोगिन समेत अनुरोध गर्दछ,’ एसपी कोइरालाले लोकान्तरसँग भने ।

salt training

कमेन्ट गर्नुहोस्