राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा रहेको बेरोजगारी र गरीबी समस्या समाधानका लागि सही नेतृत्व र पार्टी छान्न आग्रह गरेका छन् ।
राप्रपाले शुक्रवार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा सही नेतृत्व छान्न नसक्दा बेरोजगार र गरीबीको अन्त्य हुन नसकेको बताए ।
उनले भने, ‘बेरोजगार र गरीबी अन्त्यका लागि सही नेतृत्व छनोट गर्ने समय आएको छ ।’ उनले ३२ वर्ष मौका पाउने नेता तथा दलहरूले जनताले अनुभूति गर्ने गरी देशको विकास गर्न नसकेकाले अब विकल्प सोच्ने बेला आएको बताए ।
उनले भने, ‘चुनावलाई ख्यालख्याल नठानौं, भोट दिनुभन्दा अगाडि हजार पटक सोच्नुस्, बाउ–बाजेको पार्टी भनेर भोट नदिनुस्, ठीक पार्टी र ठीक नेता चुन्नुपर्छ ।’
भोट दिँदा छोरी दिएको जस्तो गरी सोचेर दिन उनले आग्रह गरे । उनले थपे, ‘छोरी दिँदा जति सोचेर बुझेर दिइन्छ, त्यति नै भोट दिँदा सोचिएन भने देशले दुःख पाउँछ ।’
विगत निर्वाचनहरूमा ठीक पार्टी र नेता छान्न नसक्दा देश र जनताले दुःख पाएको उहाँको भनाइ थियो । जनतालाई गाइगोठको वस्तु ठान्ने नेताहरुले जनताका समस्या हल गर्नै नसक्ने उनको भनाइ थियो । उनले भने, ‘देश कस्तो बनाउने भन्नेबारे तीनै पालिकाको विकास गरेर देखाउँछौं । नमूना पालिका बनाउनेछौं ।’
कार्यक्रममा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र हेम्जङ गुरुङले आगामी निर्वाचनमा राष्ट्रवादीको जीत भएमा देश र जनताले दुःख नपाउने बताए । अहिले आफूहरू देश बचाउनका लागि गुहार माग्न जनतामाझ आएको उनीहरूको भनाइ थियो ।