०८ साउन २०८३, शुक्रबार
स्थानीय चुनाव

एमालेले छान्यो ५ महानगर र ९ उपमहानगरपालिकामा उम्मेदवार

बैशाख १०, २०७९
एमालेले छान्यो ५ महानगर र ९ उपमहानगरपालिकामा उम्मेदवार

नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि ५ महानगरपालिका र ९ उपमहानगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ । ती महानगर तथा उपमहानगरपालिकामा अधिकांश स्थानको उपमेयरको टुंगो पनि लागेको छ । शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाएको हो । 

उपमहानगरपाकिलामा को–को ?
धनगढी उपमहानगरमा रणबहादुर चन्दलाई मेयर र चन्द्रकला रानाथारुलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । यसैगरी नेपालगन्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्रलाई मेयर र शान्तिदेवी ढकाललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय हुँदा तुल्सीपुरमा टीकाराम खड्कालाई मेयर र स्यानी चौधरीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । 

यसैगरी घोराहीमा नोरुलाल चौधरीलाई मेयर र हुमाकुमारी बिसीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 
यसैगरी बुटवलमा बाबुराम भट्टराईलाई मेयर र सावित्रादेवी अर्याललाई उपमेयरको उम्मेदवार बनाइएको छ । यस्तै  हेटौँडा अनन्त पौडेललाई मेयर र सुमित्रा काफ्लेलाई उपमेयरको उम्मेदवार बनाइएको छ।  
यस्तै धरानमा मञ्जु भण्डारीलाई मेयर तथा पदम लिम्बुलाई उपमेयरको उम्मेदवार बनाइँदा इटहरीमा यमकुमार सुब्बालाई मेयर र संगीता चौधरीलाई उपमेयरको उम्मेदवार बनाइएको छ । 

यसैगरी कलैयामा बिनोद शाह मेयरको उम्मेदवार बन्दा उपमेयर टुंग्याउन बाँकी छ।  एमालेले उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म दुई उपमहानगरपालिकाको उम्मेदवार भने टुंग्याउन सकेको छैन । 
प्रचार विभाग प्रमुख गुरुङले जनकपुर उपमहानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकामा मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाउन बाँकी रहेको बताए । 

महानगरमा को–को ?
एमालेले पोखरा महानगरपालिकामा दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै उपमेयरमा मञ्जुदेवी गुरुङलाई टिकट दिने निर्णय भएको छ । यस्तै वीरगन्ज नगरपालिकामा विजय सरावगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको प्रचार विभाग गुरुङले जानकारी दिए ।  वीरगन्जमा  उपप्रमुखको टुंगो लगाउन भने बाँकी छ ।

यसैगरी भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ भने उपमेयरको टुंगो लाग्न बाँकी छ।  सुवेदीले मेयर बन्नका लागि यसअघि नै प्रदेशसभा सदस्यबाट राजीनामा दिइसकेका छन् । 
यसैगरी ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यञ्जनकारलाई मेयर र  मञ्जली शाक्य बज्राचार्यलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ । 

यता काठमाडौंमा मेयरको उम्मेदवार केशव स्थापित र सुनिता डंगोल उपमेयरको उम्मेदवार रहेकी छन् । एमालेले विराटनगरमा मेयर तथा उपमेयरको उम्मेदवार टुंगो बाँकी रहेको छ।  देशभर ६ महानगरपालिका र ११ उपमहानगरपालिका रहेका छन् । ती महानगर तथा उपमहानगरपालिकाको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदैछ भने त्यसका लागि आइतबार र सोमबार मनोनयन दर्ताको कार्यतालिका रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्