
जहाज किन्दा लिएको ऋणले थलिएको वायुसेवा निगम ऋणदाता निकायका प्रतिनिधिलाई फकाउन साउदी अरेबियाको ४ दिने टूरमा छ ।
निगमले ११९ यात्रु लिएर शुक्रबार साँझ साउदी अरेबिया गएको छ । यो उडानमा २५ जनाभन्दा बढी जानै नपर्ने व्यक्तिलाई समावेश गरेर निगमले साउदी घुमाइरहेको छ ।
यो उडानमा असम्बन्धित व्यक्ति समावेश हुँदा निगमको दायित्व मात्रै बढ्ने र आम्दानी बढाउन सहयोग नगर्ने निगमकै एक उच्च अधिकारीले बताए ।
लाभ नहुने व्यक्तिलाई समावेश गरेर निगमले साउदी लगेको उनको भनाइ छ । निगमले यो उडानमा एकै व्यक्तिलाई लाखौं रुपैयाँ खर्चिएको निगमका ती अधिकारीले जानकारी दिए ।
निगमको काठमाडौं–रियादको एकतर्फी भाडा नै ३७ हजार रुपैयाँ तोकिएको छ । यही टिकट दरलाई आधार मान्ने हो भने पनि आउने र जाने टिकटमा मात्रै प्रति यात्रु कम्तिमा ७० हजार खर्च हुन्छ ।
निगमका एक उच्च अधिकारीका अनुसार ४ दिनको प्याकेजसहित एक जनाका लागि निगमको करीब ३ लाख रुपैयाँ खर्च हुन्छ । २५ भन्दा बढी असम्बन्धित व्यक्तिका लागि झण्डै एक करोडको हाराहारीमा खर्च हुने अवस्था छ ।
उच्च पदाधिकारीको आफन्त आसेपासे तथा निगम पदाधिकारी निकटका व्यक्ति रिझाउन साउदी टूरमा लगिएको पाइएको छ ।
घाटामा रहेको निगमले साउदी लगेको टोलीमा अर्थ मन्त्रालयका प्रतिनिधि, नियामकीय निकाय, सांसद, पर्यटन मन्त्रालय, ऋणदाता सञ्चय कोष र नागरिक लगानी कोष, कलाकार, पत्रकार, संगीतकर्मी समेत छन् ।
यसरी अनावश्यक खर्च गर्ने गरी निगमले साउदी टूरमा ठूलो टोली लिएर जानु अहिलेको अवस्थामा घातक निर्णय भएको निगमकै अधिकारी बताउँछन् ।
शुक्रबार साँझ निगमले पूर्ण खर्च व्यहोर्ने गरी लगेको उक्त टोली सोमवार मात्रै फर्कने भएको छ ।
निगमको साउदी अरेबिया उडानमा गएका र निगमले खर्च बेहोर्नुपर्ने व्यक्तिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, व्यवसायी चन्द्रप्रसाद ढकाल, बोर्ड सदस्य तथा व्यवसायी किशोर प्रधान, पर्यटन सहसचिव टोकराज पाण्डे, उड्डयन प्राधिकरणका निर्देशक जगन्नाथ निरौला, गायक दीप श्रेष्ठ, सांसदद्वय महेश बस्नेत, नरमाया ढकाल, नेतृ कल्पना धमलासहितका व्यक्ति छन् ।
यी बाहेक निगमको खर्चमा साउदी टूरमा परेकामा व्यक्तिहरूमा सन्तोष पौडेल, सुधीरशम्शेर राई, सन्तोष बीसी, लक्ष्मीकुमार चौधरी, भुषण दाहाल, हरिसचन्द्र घिमिरे, सन्तोष पौडेल, चेतबहादुर कार्की, सुन्दर बास्तोला, सुरज कुँवर, सन्तोष पाण्डेसहितका व्यक्ति परेको छन् ।

पर्यटन मन्त्रीका स्वकीय उपसचिव हेमन्त रेग्मीका अनुसार पर्यटन मन्त्रालयले ऋणमा डुबेर घाटामा रहेको संस्थालाई अनावश्यक खर्च नगर्न र असम्बन्धित व्यक्तिलाई सयर गराएर खर्च नबढाउन दिएको सुझाव निगमले बेवास्ता गरेको छ । रेग्मीले भने, ‘पर्यटन मन्त्रालय, नियामक निकाय, ऋणदाताका प्रतिनिधि लैजानु त सामान्य भयो तर लानैनपर्ने व्यक्तिलाई पनि लगेर निगमले खर्च मात्रै बढाउने काम गरेको छ ।’
निगमलाई पर्यटन मन्त्रालयले अत्यावश्यक व्यक्तिबाहेक अरूलाई उडानमा राखेर खर्च नबढाउन आग्रह गर्दागर्दै पनि २५ जनाभन्दा बढीको टोलीलाई खर्च गरेर साउदी लगेको पाइएको छ ।
निगमका कार्यकारी अध्यक्षसहितको उक्त टोलीले पर्यटन मन्त्रालयको निर्देशनविपरीत गरेको भ्रमणका सम्बन्धमा स्पष्टीकरण सोधिने रेग्मीले बताए ।
रेग्मीका अनुसार पछिल्लो समय बढाएको अनावश्यक खर्च, नियमित उडान तालिका प्रभावित हुने गरी आन्तरिक उडानको जहाजलाई चार्टरमा लगाएको विषयमा निगमलाई स्पष्टीकरण सोधिएको छ ।
निगमका कार्यकारी अध्यक्ष साउदी टूरमा भएकाले उनी फिर्किएपछि यही उडानको विषयमा थप स्पष्टीकरण सोधिने छ ।
निगमलाई फजुल खर्च कम गर्न र उडानबाटै नाफा कमाएर ऋण तिर्न सक्ने योजना पेश गर्न पर्यटन मन्त्रालयले आग्रह गरेको छ ।
उक्त आग्रहलाई पनि बेवास्ता गर्दै निगम चुप लागेर बसेका कारण जहाज किन्दा लिएको ऋण ३७ अर्ब रुपैयाँ नाघिसकेको छ । निगमले जहाज किन्दा लिएको ऋणको सावा र ब्याजसमेत ३ वर्षदेखि तिर्न सकेको छैन ।