
सम्मानजनक रुपमा टिकट वितरण नभएको भन्दै सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दिएको छ ।
बुटवलस्थित निर्वाचन कार्यालयमा मेयरमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले मनोनयन दर्ता गरेका हुन् ।
योसँगै बुटवलमा सत्तारुढ गठबन्धन भत्किएको छ । पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले आफूहरूको अस्तित्व स्वीकार नगरेपछि पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेको लोकान्तरलाई बताए ।
मनोनयन दर्ताको पहिलो दिन आइतवार मेयर र उपमेयरको मनोनयन गरेको बताउँदै सोमवार १९ वटै वडामा मनोनयन दर्ता गर्ने बुटवल नगर इन्चार्ज नारायण नागिलाले बताए ।
बुटवल उपमहानगरमा सत्तारुढ पाँच दलका बीचमा केन्द्रीय तहबाटै गठबन्धन कायम गर्ने सहमति भएको थियो । सहमतिअनुसार बुटवलमा मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा परेको छ ।
जसपाबाट बुटवलको मेयरमा उम्मेदवारी दिएका हितानले आफूले युवाहरूको भावनालाई बुझेर काम गर्ने प्रतिबद्धता जनाए । पहिलो दिन रूपन्देहीका स्थानीय तहमा साना दलले मात्रै मनोनयन दर्ता गरेका छन् ।