
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरका तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पदाधिकारीसहित ६४ जना विरुद्ध आइतवार भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।
अख्तियारले आइतवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो ।
नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सार्वजनिक सम्पत्तिको हिनामिना गरेर भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनुपर्ने विधि र प्रक्रियाविपरीत समितिका अध्यक्षहरूको एकल तोक आदेशको आधारमा व्यक्ति विशेषको नाममा दर्ता स्रेस्ता कायम गरी हक हस्तान्तरण गरेको अभियोगपत्रमा उल्लेख छ ।
समितिका तत्कालीन अध्यक्षहरू गोपाल रसाईलीविरुद्ध २ करोड २१ लाख ९७ हजार ४०० रूपैयाँ, पल्टु रानाविरुद्ध ७३ लाख १० हजार ८०० रूपैयाँ, नायव सुब्बा पुष्पराज भट्टविरुद्ध ३ करोड ७ लाख २० हजार ९३८ रूपैयाँ, अमिन तुलादत्त जोशीविरुद्ध ३ करोड ८ लाख ५ हजार ७०० रूपैयाँ बिगो कायम गरेर मुद्दा दर्ता गरिएको छ ।
त्यसै गरी अन्य प्रतिवादीविरुद्ध पनि करोडौं रूपैयाँ बिगो कायम गरी प्रतिवादी बनाइएको छ ।