
कैलालीको कैलारी गाउँपालिका-७ बिपतपुर मुक्तकमैया शिविरमा लागेको आगो झण्डै ४ घण्टापछि नियन्त्रणमा आएको छ ।
आइतवार दिउँसो साढे १ बजेदेखि शुरू भएको आगलागी साँझ साढे ४ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । तर, अझै घरका खामामा लागेको आगो ननिभेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
उनका अनुसार ७१ घरधुरीले बनाएको घर, गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । एक्कासि भएको आगलागीले स्थानीयवासीका लत्ताकपडा, खाद्यान्न, चौपाया जलेर नष्ट भएका छन् । तर, मानवीय क्षति भने नभएको प्रजिअ थापाले बताए ।
घटनाको कारण र यकिन तथ्यांक आउन बाँकी रहेको बताउँदै उनले घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गरे ।

जिल्लाको निकै दुर्गममा रहेको सो वस्तीमा तत्कालै अग्नि नियन्त्रक स्रोतसाधन पुग्न नसक्दा ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् ।
आगलागी भएको निकै समयपछि मात्रै टीकापुर, धनगढी, घोडाघोडी नगरपालिकाबाट गएको दमकल र कैलारी गाउँपालिकाको एक्साभेटरको सहायता तथा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको लामो प्रयासले आगो नियन्त्रणमा आएको हो ।
वस्ती नै खरानी भएपछि स्थानीय प्रशासनले तत्कालका लागि स्थानीयलाई त्रिपाल, खानेकुराको व्यवस्था गर्न लागेको प्रजिअ थापाले जानकारी दिए ।
घर भर्खरै भित्र्याएको गहुँसहित खाद्यान्न, शरीरमा भएको लत्ता कपडाबाहेक सबै सम्पत्ति जलेर नष्ट भएपछि स्थानीयको कन्तबिजोग भएको छ ।
आगलागीपछि वस्ती नै मर्माहत भएको बताउँदै बस्तीका भलमन्सा हिँगुराम चौधरीले कहाँ बास बस्ने र के खाने ? बारे कुनै ठेगान नभएको दुखेसो पोखे ।



