१६ असार २०८३, मंगलबार

भन्सारमा हुँदा नायव सुब्बाले १ करोड ८७ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेपछि ...

बैशाख १२, २०७९
भन्सारमा हुँदा नायव सुब्बाले १ करोड ८७ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेपछि ...

भन्सार कार्यालयमा हुँदा १ करोड ८७ लाख बढी गैरकानूनी सम्पत्ति आर्जन गर्ने निलम्बित नायव सुब्बा देवीबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

काठमाडौंको भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुनेमा हुँदा थापाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै थापाले आरोपपत्र दायरबारे जानकारी दिएका छन् ।

आफ्नो हैसियतभन्दा बढी रकमले आफू, बुवाआमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरू दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारको दाबी छ ।

‘भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमाण्डौमा ना.सु. पदमा कार्यरत (हाल निलम्बन) देवी बहादुर थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज देवी बहादुर थापा मिति २०५६।०४।०५ गते विचारी पदमा सेवा प्रवेशदेखि आ.व. २०७५।०७६ सम्मको जाँच अवधिमा निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफु, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चलअचल सम्पत्तिहरू खरिद, विभिन्न उद्योग तथा फर्महरूमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा एवं घर निर्माण लगायतका शीर्षकहरूमा रु.३,८९,४५,५८८।७८  खर्च गरेको देखिँदा निजको वैध आय रु.२,०१,९८,४३९।३६ को तुलनामा रु.१,८७,४७,१४९।४२  बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको देखिँदा निजले साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ र सो कसूरलाई निरन्तरता दिई प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको हुँदा निज देवीबहादुर थापालाई बिगो रु.१,८७,४७,१४९।४२ (एक करोड सतासी लाख सतचालीस हजार एक सय उनान्पचास रुपैयाँ बयालीस पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक बाक्यांश एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

थापाले आफन्तको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न समेत आरोप पत्रमा माग गरेको छ ।

‘निज देवीबहादुर थापाले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी निजको बुवा कृष्णबहादुर थापा, आमा चन्द्र माया र श्रीमती विमसा राउतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनको लागि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम निजहरूलाई समेत प्रतिवादी कायम गरी निजहरूको नाममा रहेको सम्पत्ति जफत हुने मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्