
नेपालको सबैभन्दा सानो तर देशकै पहिलो रामसार सूचीमा सूचीकृत कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको सिमसार सुक्न थालेको छ ।
प्रदेश १ र मधेस प्रदेशको सीमामा रहेको तीन जिल्लामा फैलिएको सुनसरीको कोसी टप्पु वन्यजन्तु आरक्षको पूर्वतर्फको सिमसार सुक्न थालेको हो ।
संरक्षणको अभाव, कोसीको पानीलाई वराह क्षेत्रस्थित चतरामा नै केही वर्षअघि भारतले पाइलट च्यानलमार्फत पश्चिमतर्फ मोड्नु र जलवायु परिवर्तनको असर पर्नुले सुनसरीको सिमसार क्षेत्रहरू सुक्न थालेको स्थानीयवासीले बताएका छन् ।
वराह क्षेत्र नगरपालिकाको महेन्द्रनगर, प्रकाशपुर र मधुवन तथा कोसी गाउँपालिकाको पश्चिमकुशाहा, श्रीपुरजब्दी, हरिपुरसहितका सिमसारहरू सुक्न थालेको स्थानीयवासीले बताएका हुन् । विगत दुई वर्षदेखि सिमसार सुक्ने क्रम बढेको कोसी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुदेव यादवले बताए ।
कोसी सिमसार क्षेत्र सुनसरीवासीको प्राकृतिक सम्पत्ति भए पनि वराह क्षेत्रको महेन्द्रनगरदेखि कोसी गाउँपालिकाको हरिपुर भाण्टाबारी, कोसी ब्यारेजसम्मका सिमसार सुक्न थालेको उनले बताए । गोरखापत्र दैनिकमा जयकृष्ण यादवले खबर लेखेका छन् ।