
विराटनगर महानगरपालिकामा नेकपा माओवादी केन्द्र विराटनगरकी सचिवसमेत रहेकी नमिता न्यौपानेले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।
एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगाडि बढेका कारण उम्मेदवारी दिएको उनले बताएकी छिन् ।
‘मैले उम्मेदवारी दिएँ,’ न्यौपानेले भनिन्, ‘एकलौटी ढंगले गठबन्धन दल नेपाली कांग्रेस अगाडि बढेका कारण उम्मेदवारी दिएकी हुँ, म उपप्रमुखमा विजयी हुन्छु भन्ने विश्वास छ ।’
गत चुनावमा उपमेयरकी प्रत्याशी रहेकी न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याएकी थिइन ।
विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला उम्मेदवार बनेका छन् भने जसपाका अरमेन्द्र यादव उपमेयरको उम्मेदवार बनेका छन् ।
कांग्रेसले गठबन्धनमा रहेका दललाई वास्ता नगरेको भन्दै नेकपा एकीकृत समाजवादी तथा माओवादी केन्द्रका नेताहरू रुष्ट बनेका छन् ।
संस्थापन इतर समूहको बहुमत रहेको विराटनगरमा संस्थापन इतरकै कोइराला मेयरको उम्मेदवार बनेका छन ।
कांग्रेस विराटनगर महानगर समितिले महानगरमा गठबन्धन नगर्ने निर्णय गरेको थियो ।
यता कांग्रेस महानगर सभापति दिपक चापागाईँले भने माओवादीले उपमेयरमा उम्मेदर उठाएर धोका दिएको बताएका छन् ।
उनले कांग्रेसले एक्लै जित्ने ठाउँमा केन्द्रले गठबन्धन गरिदिएका कारण समस्या आएको उनले बताए ।
यस्तै विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपप्रमुखमा १७ जनाले उम्मेदवारी दिएका छन् ।
विराटनगरका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार वडाध्यक्षमा मात्रै १७२ जनाको उम्मेदवारी परेको छ । विराटनगरमा १९ वटा वडा छन् ।
ती वडाहरुको खुल्ला सदस्यमा १७१, महिला सदस्यमा १४३, खुल्ला सदस्यमा २९१ जना र दलित महिला सदस्यका लागि ११५ जनाले उम्मेदवारी दिएका छन् ।
सोमवारसम्ममा सत्तारुढ गठबन्धन, नेकपा एमालेसहित सोमबार १३ र पहिलो दिन आइतवार ३ जना गरि १६ जनाले प्रमुखमा मनोनयन दर्ता गराएका हुन् ।
प्रमुख निर्वाचन अधिकृतको कार्यालका अनुसार प्रमुखमा कांग्रेसबाट नागेश कोइराला, नेकपा एमालेबाट सागर थापा, राप्रपाबाट प्रह्लाद साह, लोकतान्त्रिक समाजवादी पार्टीबाट मृत्युन्जय मिश्र, नेपाली काग्रेस बिपी पार्टीबाट रामचन्द्र गौतम, जनमत पार्टीबाट अशोककुमार मण्डल, विवेकशील साझा पार्टीबाट अमलेश कर्ण, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट डा. नागेश्वरप्रसाद सिंहलगायत छन् ।
आइतवार मात्रै स्वतन्त्र तर्फबाट उमेश यादव, सक्रिय गौतमले उम्मेदवारी दर्ता गराएका थिए ।
उपप्रमुखमा भने जसपाबाट उपेन्द्र यादवको छोरा अरमेन्द्र यादव, एमालेबाट शिल्पा कार्की, राप्रपाबाट विन्दा लुइँटेल आचार्य, लोसपाबाट सहनाज खातुन, माओवादी केन्द्रबाट नमिता न्यौपाने लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।