३० जेठ २०८३, शनिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीको सफल अवतरण

बैशाख १५, २०७९
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीको सफल अवतरण

रुपन्देहीको भैरहवास्थित मुलुकको दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बिहीवार विमानस्थलमा सफल अवतरण गरेको छ ।

७२ वर्षपछि राष्ट्रिय गौरवको आयोजना विमानस्थल सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर आएको विमान काठमाडौंबाट भैरहवामा ४५ मिनेटमै अवतरण गरेको थियो ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ठूलो विमानको अवतरण भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोदसिंह रावतले वायुसेवा निगमको वाइडबडी जहाजले सफल परीक्षण उडान गरेको बताए । उनका अनुसार वैशाख १ गते नै वाइडबडी जहाजले उडान गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदा केही ढिलाइ भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणका प्रमुख गोविन्दप्रसाद दाहाल वाइडबडी जहाजले सफल परीक्षण गरेकाले अब अन्तर्राष्ट्रिय उडान भर्न सहज हुने बताए । विमानस्थलको नयाँ धावनमार्ग अघिल्लो हप्तादेखि सञ्चालनमा आइसकेको छ । पुरानो धावन मार्गलाई ट्याक्सी पार्किङको रूपमा प्रयोग गरिएको छ ।

अहिले आन्तरिक तर्फबाट उडानहरू नयाँ धावनमार्गबाटै भइरहेका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत वैशाख ८ गतेदेखि विधिवतरूपमा सञ्चालनमा आइसकेको छ । यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ ।

जजिराले आउँदो जेठ २ गतेदेखि हप्ताको ३ दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको छ । उसले सोमवार, बुधवार र शुक्रवार उडान भर्नेछ । यस्तै अन्य वायुसेवा कम्पनीहरूले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ । 

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । 

पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करीब ५ वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्सट्रक्सन ग्रूपले निर्माण गरेको हो । 

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको पहिलो चरणमा करीब ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले विमानस्थलमा एयर बसको उडानप्रति खुशी व्यक्त गर्दै अब विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको कामलाई छिटो अगाडि बढाउन सरकारसँग आग्रह गरे । विमानस्थल ७ वर्षमा निर्माण सम्पन्न भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्