२२ जेठ २०८३, शुक्रबार

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ

बैशाख १६, २०७९
नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ लाख ६५ हजार रुपैयाँ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्यांक अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ७२ डलर पुगेको छ ।

विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय यो वर्ष आएर १ लाख ६७ हजार रुपैयाँ पुगेको हो ।

चालू आर्थिक वर्षमा एकैपटक १ सय ८१ डलरले बढेर १ हजार ३ सय ७२ डलर पुगेको र यसअघि २०७४÷७५ मा एकैपटक १ सय २९ डलर बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

आर्थिक वर्ष २०६९/७० मा ८ सय १४ डलर रहेको नेपालीको प्रतिव्यक्ति आय एक दशकमा ५ सय ५८ डलर बढेको छ । आर्थिक वर्ष २०७३/७४ पहिलोपटक १ हजार डलर नाघेको थियो ।

२०७४÷७५ मा १ हजार १ सय ३८ डलर, २०७५÷७६ मा १ हजार १ सय ५९ डलर, २०७६÷७७ मा १ हजार १ सय २६ डलरमा झरेको प्रतिव्यक्ति आय २०७७÷७८ मा भने १ हजार १ सय ९१ डलर पुगेको र अहिले १ हजार ३ सय ७२ डलर पुगेको हो ।

आर्थिक वृद्धि ५.८४ प्रतिशत
केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा सोही समयमा ३.८३ प्रतिशतको आर्थिक वृद्धि भएको थियो । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले चालू आर्थिक वर्षमा ४.१ प्रतिशतको मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । यसअघि सरकारले भने चालू आवमा ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विश्व बैंक, एसियाली विकास र आईएफएफजस्ता संस्थाले नेपालको कुल आर्थिक वृद्धिदर न्यून हुने प्रक्षेपण गरिसकेका छन् । २०७७÷७८ मा आर्थिक वृद्धिदर ४.३ प्रतिशत भएको थियो भने २०७६÷७७ मा माइनस २.४ प्रतिशतबराबरको आर्थिक वृद्धि भएको थियो ।

विश्व बैंकले चालू वर्षमा बढीमा ३.७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले ६ महिनाको आर्थिक अवस्थालाई हेरेर चालू वर्षमा ३.७ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो । यसअघि विश्व बैंकले ३.९ प्रतिशतको प्रक्षेपण गरेको थियो ।

यसअघि एसियाली विकास बैंक (एडीबी)ले पनि नेपालले लक्षित आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । एसियन डेभलपमेन्ट आउटलुक २०२२ प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । नेपाल सरकारले भने चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । राजधानी दैनिकमा पूर्णभक्त दुवालले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्